२८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेका दुई युवालाई करिब एक महिनापछि झापा प्रहरीको जिम्मा लगाइएको छ ।

गोरखाको पालुङटार नगरपालिका–७ घर भएका ३६ वर्षीय गौरव भनिने अमृत सापकोटा र खोटाङको खोटेहाङ गाउँपालिका–७ का ३५ वर्षीय दिलिप भनिने समर्पण भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाको जिम्मा लगाइएको हो ।

उनीमाथि भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर चन्दा उठाएको आरोप छ । गौरवले आफूलाई नेकपा (माओवादी) को महासचिव बताउने गर्छन् । समर्पण सोही पार्टीका सचिव हुन् ।

पर्सा प्रहरीले उनीहरूबाट चन्दा उठाउने रसिद र केही चन्दा उठाएको विवरण समेत बरामद गरेको थियो । पर्सा प्रहरीका एक अधिकृतका अनुसार उनीहरू सुरुमै माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनीहरूबाट केही राजनीतिक दस्तावेजहरू समेत बरामद भएको र भूमिगत रूपमा सशस्त्र संघर्ष गर्ने तयारीसम्म रहेको पर्सा प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

कतिसम्म भने उनीहरूले आफूसँग हतियार समेत रहेको बयान प्रहरीलाई दिएका थिए । ‘तनहुँमा हतियार राखेको भन्ने बताएपछि त्यहाँ रेड हान्न लगाइएको थियो तर, हतियार फेला परेन । सशस्त्र संघर्ष गर्ने भन्दै उनीहरूले धम्की दिएर चन्दा उठाउने गरेको खुलेको छ,’ पर्सा प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने ।

पर्साका एसपी कुमोध ढुंगेल पनि उनीहरू चन्दा उठाउने काममा सक्रिय रहेको बताउँछन् । पर्साको अनुसन्धान सकेर उनीहरुलाई झापा पठाइएको हो । पर्साबाट उनीहरु धरौटीमा रिहा भएका थिए । दुबै जनालाई झापा ल्याइएको झापाका डीएसपी कृष्ण चन्दले बताए ।

झापाको गिरीबन्धु टी–स्टेट अगाडि विस्फोटक पदार्थ राख्दै नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड लेटरप्याण्डमा ‘गिरिबन्धु टी–स्टेट कब्जा किन ?’ लेखिएको पर्चा छाडिएको थियो ।

गत २८ भदौमा उक्त पर्चा राखिएको आरोपमा झापा प्रहरीले पनि नेकपा (माओवादी) का दुई नेता–कार्यकर्तामाथि अनुसन्धान गरिरहेको छ ।

चन्दका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल घर भएका २९ वर्षीय धिरज माझी पक्राउ परेका थिए ।

उनीहरुलाई १२ मंसिरमा इलाका प्रहरी कार्यालय अनारमनीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार मोरङ र झापामा पक्राउ परेका व्यक्ति एकै समूह नेकपा (माओवादी)का हुन् । उनीहरूले व्यवसायीलाई आतंकित पार्दै चन्दा उठाउने गरेको आरोप छ ।

यही घटनामा अनुसन्धान गर्नका लागि पर्साबाट गौरव र समपर्णलाई झापा ल्याइएको चन्दले बताए । उनीहरुमाथि बिस्फोटक पदार्थको कसुरमा अनुसन्धान सुरु गरिएको छ । गौरव र समपर्णलाई भने झापाको अनुसन्धान सकिएपछि कैलाली पनि पठाइने प्रहरीले जनाएको छ । कैलालीमा पनि उनीहरुविरुद्ध यस्तै आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0