२९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारालाई एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी उपहार दिएका छन् । नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका ‘टाक्लु दाइ’ नामले परिचित एन्ड्र्यूले लारालाई उपहार दिएका हुन् ।

‍’यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने ।

त्यसपछि एन्ड्र्यूले लारालाई नमस्ते गर्न पनि भने । लाराले खुसी हुँदै २ हात जोडेर नमस्ते गरे ।

‘म टाक्लु दाइ भइजस्तै तपाईं पनि आजदेखि ब्रायन दाइ हुनुभयो’, एन्ड्र्यूले भने । त्यसपछि लाराले आफू पनि टाक्लु नै भएको बताउँछन् ।

बोली सच्याउँदै एन्ड्र्यू दुवै जना ‘टाक्लु दाइ १ र २’ भएको बताउँछन् ।

वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदान पुगेका हुन् । मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् ।

उनी मैदानको चारैतिर घुमेका थिए ।

उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।

लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।

उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0