१ पुस, काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो ।
त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो ।
गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।
पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ ।
पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।