८ पुस, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

बैठकमा माओवादी सांसद अमनलाल मोदीले लेखा समिति सभापति ऋषिकेश पोखरेलले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । लेखा समिति सभापति प्रमुख प्रतिपक्षीको हुने अभ्यास रहेको उल्लेख गर्दै सांसद मोदीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

त्यसको जवाफमा एमाले सचिव भट्टराईले विगतमा रहेको राजनीतिक परिस्थिति अनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताए ।

राष्ट्रिय सभा अध्यक्ष, समिति सभापति सबैमा राजनीतिक परिस्थिति अनुसार चयन भएको उल्लेख गर्दै उनले अहिलेको परिस्थिति अनुसार सबै बदल्ने हो भने आफूहरू तयार रहेको बताए ।

‘अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार छ । यो हाम्रो सहकार्य ०८४ सम्मै हुन्छ भनेका छौं । यो सहकार्य अब ३ वर्ष जान्छ,’ एमाले सचिव भट्टराईले भने ।

कांग्रेस र एमाले सत्तारूढ दल रहेको परिस्थिति अनुसार संसदका पदाधिकारी र समिति सभापतिबारे नयाँ ढंगले निर्णय गर्न आफूहरू तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0