काठमाडौं । आफ्नो देश छाडेर परदेश पुग्दा भाषा, संगीत र संस्कृति नै आफ्नो पहिचान बन्छ । सन् २००२ मा उत्तर अमेरिकी मुलुक क्यानडा पुग्दा साहित्यकार तथा लेखक सुरेन उप्रेतीलाई पनि त्यस्तै महसुस भयो ।

क्यानडामा पाइला राखेको केही समयमै उनलाई नेपाली भाषा, साहित्य र संस्कृति जगेर्ना र प्रवर्द्धनका लागि केही गरौं भन्ने हुटहुटी जाग्यो । त्यहाँ रहेका नेपालीहरुलाई उनले हेरे आफ्नो भाषाभन्दा अंग्रेजी र फ्रेन्च बोल्न र सिक्न लालयित देखे । इन्जिनियरिङ पृष्ठभूमिका उनी साहित्य लेखनमा नेपालमा हुँदै सक्रिय थिए ।

‘एक हिसाबले त्यहाँ त्यो बाध्यता पनि थियो होला । तर पनि बाबुआमाले नै नेपाली नबोलिदिएपछि बालबालिकाले कसरी सिक्छन् भन्ने चिन्ता मलाई लाग्यो,’ अनलाइनखबरसँगको भेटमा लेखक उप्रेतीले भने, ‘त्यसैले नेपाली बच्चालाई आफ्नो भाषा सिकाउन केही गर्ने अठोट गरें ।’

बाल साहित्यका थुप्रै पुस्तकहरु लेखेका छन् उप्रेतीले । आजका स्वरहरु कविता संग्रह-२०५३, अजम्मरी माया बालकथा संग्रह-२०५८, पछुतो बालकथा संग्रह-२०६४, आकाशे परी बालकथा संग्रह-२०६४ अटवा, झिलिमिली तारा बालगीत संग्रह-२०६४, अनन्त यात्रा कथा संग्रह-२०६९, डटर्स अफ एभरेस्ट बालकथा संग्रह-२०७५ (अंग्रेजी), एकान्तवास : कोरोनासम्बन्धी बालमनोविज्ञानमा आधारित बालकथा संग्रह-२०७८, देश हराएको मान्छे बालकथा संग्रह-२०७९ लगायत उनका प्रकाशित बाल साहित्य कृतिहरु हुन् ।

अन्य विधामा लेखे पनि बाल साहित्यप्रति विशेष झुकाव हुनुमा उनीहरुलाई नेपाली भाषा सिकाउने हुटहुटीले काम गरेको हुनसक्ने उप्रेती बताउँछन् ।

क्यानडाको मन्ट्रेरियलमा बसोबास गर्ने क्रममा उनको केही पाकिस्तानीहरुसँग भेट भयो । उनीहरुको बैठकमा उप्रेती गए । ‘बूढापाका सबै आएर बस्ने र केटाकेटीलाई गीत गजल, कविता भन्न लगाउने गर्दा रहेछन्,’ उनी सुनाउँछन्, ‘त्यस कार्यले आफ्नो भाषालाई प्रोत्साहन गरिरहेको पाएँ । त्यसबाट हाम्रा नेपाली बालबालिकालाई पनि आफ्नो भाषामा पनि यसै गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो ।’

त्यसपछि उप्रेतीले त्यहाँको स्कुलमा नेपाली पढाउने प्रस्ताव राखे । उनले अवसर पनि पाए । तर पुस्तक अभाव भएकाले अलि कठिनाइ भयो । ‘त्यहाँ नेपाली किताबहरु नपाइने, त्यसमा पनि बालबालिकाका लागि । किताब नेपालबाटै लैजानुपर्थ्यो । त्यो त्यहाँको परिवेशमा त्यति सान्दर्भिक नहुने भयो,’ उप्रेती भन्छन्, ‘एकरुपता पनि नहुने भएपछि किताब नै लेखेर पढाउन पाए हुन्थ्यो भन्ने लाग्यो ।’

त्यसपछि त्यहाँको स्थानीय सरकारसँग अनुमति लिएर नेपाली भाषाको पुस्तक तयार पारे । कक्षा १ देखि ४ सम्मका लागि ‘प्रवासमा नेपाली शिक्षा भाग-१’ र कक्षा ५ देखि ८ सम्मका लागि ‘प्रवासमा नेपाली शिक्षा भाग-२’ तयार पारियो । विभिन्न सहर, परिवेशलाई आधार बनाएर उनकै सम्पादनमा त्यो पुस्तक तयार भयो ।

‘किताब तयार भएपछि हामीले क्यानडाकै शैलीमा बालबालिकाहरुलाई सिकाउन थाल्यौं । नेपालमा जस्तो रटाएर त्यहाँ अक्षर चिनाइँदैन, कुनै वस्तुलाई चिनाएर सिकाइन्छ,’ उनी सुनाउँछन् ।

यसरी तयार पारिएको पाठ्यक्रम अनुसार वर्षमा १३५ घण्टा पढाइ हुने भयो । उनीहरुले प्रत्येक नेपाली घरमा नेपाली भाषा बोल्न आग्रह गरे । अभ्यास पुस्तिका पनि त्यसैलाई आधार बनाएर बनाए । बालबालिका नेपाली भाषा सिक्न रमाउन थाले ।

नेपाली भाषा, साहित्य प्रवर्द्धनका लागि काम गर्ने उद्देश्यले सन् २००४ मा उप्रेतीकै अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, क्यानडा’ स्थापना भयो । त्यसले वक्तृत्वकला, कथा, कविता प्रतियोगिता गराए । त्यसले पनि नेपाली बालबालिकाप्रति नेपाली भाषा मोह बढाउन भूमिका खेलेको उनी बताउँछन् । सन् २००६ देखि २००८ सम्म ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र’को महासचिव भएर उनले काम गरे ।

‘नेपाली बोल्न प्रोत्साहित गर्न विभिन्न उपाय अपनायौं । पुरस्कार र जरिवानाको समेत व्यवस्था गर्‍यौं । जरिवाना तिराउने नै त हैन, उनीहरुलाई इन्करेज गर्नेका लागि,’ उप्रेती भन्छन् ।

पठन संस्कृतिबारे पनि उप्रेतीले केही कुरा गरे । क्यानडाका अधिकांश व्यक्ति यात्राका क्रममा कुनै न कुनै पुस्तक पढिरहने उनी सुनाउँछन् । ‘कोभिड पछाडि पठन संस्कृति निकै कम भएको छ । क्यानडामा पहिले अधिकांश व्यक्ति किताब बोकेरै यात्रा गर्थे,’ उनी भन्छन्, ‘नेपालीहरुमा भने एक त किताबको अभाव, साहित्यकार, लेखक पनि कम हुने कारणले त्यो चलन बसिसकेको पाइँदैन ।’

नेपालमा हुँदा स्कुल चलाउने उप्रेती अमेरिकामा जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै नेपाली बालबालिकालाई भाषा पढाइरहेका छन् ।

‘पहिले जानेहरुले इङ्लिस मात्रै बोल्ने नेपाली नबोल्ने भन्ठान्नुभयो । त्यसले पछि समस्यामा पार्‍यो । बुवाआमा नेपालबाट जाँदा नातिनातिना र हजुरबा-हजुरआमासँग कम्युनिकेसनकै समस्या भयो । अस्पताल लगायत स्थानमा पनि समस्या उत्पन्न हुने परिस्थिति भयो,’ उनी भन्छन्, ‘पछि महसुस गर्नुभयो । अहिले त आफ्ना छोराछोरीलाई नेपाली सिकाउन प्रोत्साहित गरिरहनुभएको छ । कम्तीमा पनि घरमा आफ्नो बच्चाले नेपाली बोलोस् भन्ने चाहेको पाइन्छ ।’

उप्रेती कथा, कविता र निबन्ध मात्रै हैन, गीत रचना पनि गर्छन् । उनले लेखेका केही गीत रुचाइएका छन् । प्रमोद खरेलको स्वरमा रहेको ‘बाबा’ गीत निकै रुचाइएको छ । मायाप्रेमभन्दा पारिवारिक सम्बन्धका गीत रचनामा उनको रुचि छ । चाँडै ‘आमा’ गीत पनि सार्वजनिक गर्ने तयारीमा छन् ।

पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने माध्यमको रुपमा कुनै पर्व वा दिवसले महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । त्यसैले त यस पटक नेपाल आउँदा उनले ‘हजुरबुवा-हजुरआमा’ गीत समेत रेकर्ड गराए । यसभन्दा पनि अगाडि उनको प्रस्ताव छ, हजुरबुवा-हजुरआमा दिवस’ मनाऔं ।’

‘हजुरबुवा-हजुरआमा र नातिनातिनाबीच जुन खालको प्रगाढ आत्मीयता हुन्छ, त्यसलाई अभिव्यक्त गर्ने कुनै खास दिन छैन । दिदीबहिनी दाजुभाइका लागि तिहार र तीज छ । बुवाका लागि कुशे औंशी, आमाका लागि मातातीर्थ औंशी छ,’ उनी भन्छन्, ‘तर घरको मियो हजुरबुवा-हजुरआमाका लागि खै त ?’

यसैलाई महसुस गरी क्यानडामा नेपालीहरुबीच सन् २०२२ देखि हरेक वर्षको मंसिरको तेस्रो शनिबार ‘हजुरबुवा-हजुरआमा दिवस’ मनाउन थालेको उनी सुनाउँछन् ।

‘यो दिवसलाई नेपालमा पनि सरकारी र नागरिकस्तरबाट मनाउने व्यवस्था गर्न हामीले संस्कृतिमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छौं,’ उप्रेती भन्छन् ।

राष्ट्रिय पोशाक दिवस मनाउन प्रस्ताव राख्दै अर्को ज्ञापनपत्र पनि आफूहरुले बुझाएको उनी सुनाउँछन् । ‘राष्ट्रिय पोशाक दिवसका दिन संसारभरिका नेपालीले हिमाल, पहाड र तराई-मधेश झल्किने पोशाक लगाएर हिंड्दा नेपालीको बेग्लै शान हुनेथियो,’ आफ्नो सपनाबारे उप्रेती सुनाउँछन् ।

थुप्रै साहित्यिक सिर्जना र विभिन्न पुरस्कारबाट सम्मानित उप्रेतीले भेटको बिट मार्नेबेला नेपाली साहित्यबारे केही कुरा गरे । नेपाली भाषामा राम्रा राम्रा कृतिहरु आइरहे पनि अनुवादको कमीले विश्वव्यापी हुन नसकेको उनको बुझाइ छ ।

‘नेपाली भाषामा धेरै राम्रा राम्रा पुस्तक आइरहेका छन् । तर अनुवादको कमीले हाम्रा राम्रा पुस्तकहरु विश्वव्यापी हुन सकेका छैनन्,’ उनी भन्छन्, ‘पुस्तक चर्चित हुन प्रचारप्रसार पनि जरुरी रहेछ । धेरै भाषामा अनुवाद गर्न सकिए निकै राम्रो हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0