९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदमा तीन जनाले उम्मेवारी दिएका छन् । अध्यक्षका लागि पछिल्ला वर्षमातन अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका हुन् ।
एनओसीको आगामी चार वर्षे कार्यकालको लागि आउने शनिबार निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि ३ जनासँगै कूल २३ जनाको उम्मेदवारी परेको छ । जसमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध हुने भएको छ ।
१९ सदस्यीय कार्यसमितिका लागि सोमबार राती सम्म अनलाइनमार्फत कुल २३ जनाको मनोनयन दर्ता भएको छ । ७ उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेदवारी परेको छ । जसमा दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्शेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, तुल्सी थापा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्यले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा दुईजनाको नाम फिर्ता लिएर निर्विरोध गराइने तयारी पनि भइरहेको छ । उम्मेदवारी फिर्ता लिनका मंगलबार लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । यसैगरी एक कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।
३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । ५ सदस्यहरूमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्दले उम्मदवारी दिएका छन् ।
यसपटक पदाधिकारीको संख्या बढाएर सदस्यको संख्या घटाइएको छ । उपाध्यक्षको संख्या ५ बाट बढाएर ७ बनाउँदा सदस्य संख्या ७ बाट ५ मा घटाइएको छ ।