
१३ माघ, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्नामा बसेका छन् ।
सर्लाहीका नेता कार्यकर्ता काठमाडौं आएर पार्टी कार्यालयमा आइतबार धर्ना दिइरहेका छन् ।
जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टचार ठहर भएका व्यक्ति हुन् ।
सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राख्न नहुने माग सहित नेता कार्यकर्ता धर्नामा उत्रिएका हुन् ।
पूर्व जिल्ला सभापति लक्ष्मण राय र हालका जिल्ला उपसभापति नवीन अधिकारीको नेतृत्वमा सय बढी नेता कार्यकर्ताले धर्ना दिइरहेको तरुण दलको केन्द्रीय ललनकुमार यादवले जानकारी दिए ।
सिंहलाई सर्वोच्चले चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएपनि उनी पदमा कायम छन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर व्यक्तिलाई पार्टीबाट हटाउनुपर्ने ९/१० महिनाअघि देखि नै माग गरेपनि पदमुक्त नगरेकाले धर्नामा बस्नुपरेको तरुण दलका केन्द्रीय सदस्य यादवले बताए ।

