काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । शुक्रबार कुराकानी गर्दै पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए ।

उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए । उनले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए । उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।

उनले भने– ‘उहाँहरूले (सत्तारुढ दलहरूले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिका आधारमा, त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो । अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु । यो राजनीतिक कुरा हो ।’

सापकोटाले भने, ‘उहाँको गल्ती कमजोरी पनि होला । मैले बुझ्न बाँकी छ । तर पनि प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटी भएको बुझिँदैन । उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेन्डालाई अगाडी ल्याएको हो । सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।’

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओझ राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्नु नहुने बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0