१० असोज,काठमाडौं । भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्‍गे पुल औपचारिक उद्घाटन भएको छ ।

निर्माण सुरु भएको नौ वर्षपछि सुस्ता पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।

ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) निर्माण भएको झन्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् ।

असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन ।

त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोडभन्दा बढी लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो ।

भीआईपी लर्को

सुस्तावासीले एक दशक आश गरेर बल्ल उपयोग गर्न पाएको पुल उद्घाटनमा ‘भीभीआईपी’ र ‘भीआईपी’ को भने लर्को नै लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्रीहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रतिनिधि र प्रदेश सभा सांसदहरू, मन्त्रालयका सचिवहरू लगायतको ठूलो डफ्फा सुस्ता पुगेको थियो ।

सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो : सिंह

कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।

सुस्ता गाउँपालिका–५ सुस्ता गाउँ जोड्ने पुल उद्घाटनमा बोल्दै सिंहले सुस्तावासी अब सुविधामा जोडिएको बताए ।

‘झोलुङ्गे पुल अभावमा राज्यले प्रदान गर्ने सेवा सुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाका लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकामतर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा पुल निर्माणले त्यस्ता समस्या समाधान गरेको छ,’ सिंहले भने, ‘स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था समेत अन्त्य भएको छ ।’

सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले बजार पाउने अवस्था सिर्जना भएको पनि सिंहले बताए । सुस्तामा झोलुङ्गे पुल प्रयोग गरी विद्युतीय लाइन समेत लगिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0