इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो ।

हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जालको पोस्टमा इजरायली सेनाले उल्लेख गरेकै विद्यालय हो कि होइन भनेर चाँहि समाचारमा खुलाइएको छैन ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *