काठमाडौँ । ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरूले विश्वास नगर्न सक्छन् । अरूले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै भनिन्, ‘तपाईँको रुचि परिवर्तन हुनसक्छ । यो स्वाभाविक हो । यसमा चिन्तित हुनुपर्दैन । आफ्ना भावनाहरू अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहनाअनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

किशोरावस्थाका संवेगलाई जोड्दै उनले भनिन्, ‘आफूले सोचेको कुरा अभिभावकले नबुझेको जस्तो लाग्न सक्छ । अभिभावकले भनेका कुरा आफूलाई चित्त नबुझेको हुनसक्छ । आफूलाई यस्तो लागे पनि अभिभावकले भने सन्तानको भविष्यका बारेमा सोचिरहनु भएको हुन्छ । यो भने महसुस गर्नुपर्छ ।’

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’ को उत्प्रेरणात्मक कक्षामा उनले पशुपति मित्र माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग यसरी अन्तरक्रिया गरेकी हुन् ।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दाको अनुभव, काम गर्दाको अनुभव, सङ्घर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू गरेका थिए । ती प्रश्नको जवाफमा अभिनेत्री खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन् । उच्च शिक्षामा पनि इन्जिनियरिङ पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहिनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’

वैवाहिक जीवनका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनिन, ‘विवाह एउटा प्रक्रिया हो । आपसमा कुरा बुझ्न सक्ने भएपछि पेसा अगाडि बढाउन असजिलो हुँदैन ।’

डाक्टर बन्छु, इन्जिनियर बन्छु, पाइलट बन्छु भन्दा शिक्षकले, अभिभावकले पढ्ने रैछ भनेर हेर्ने दृष्टिकोण सकारात्मक बनाउने भएपछि विद्यार्थीहरूले भित्री रुचि अरू नै भए पनि भन्न चाहिँ अर्कै भन्ने गरेको उनको भनाइ थियो । कक्षामा अरूले के भन्छ वा सोच्छ भनेर होइन आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनुपर्नेमा जोड दिइन् ।

विद्यार्थीहरूलाई विद्यालयभित्र उपलब्ध भए बाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।

सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘कलाकारसँगै बैङ्क, वित्तीय क्षेत्र तथा विभिन्न प्रतिष्ठित निकायका प्रमुख कार्यकारी, वैज्ञानिक, प्राध्यापकसहित समाजका प्रभावशाली व्यक्तित्वलाई बोलाएर विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफलको अवसर उपलब्ध गराइनेछ ।’

जीविकोपार्जनका लागि अपनाइने पेसा जुनसुकै भए पनि त्यस क्षेत्रसँग सम्बन्धित विषयमा मात्र ज्ञान राखेर नपुग्ने उनको भनाइ थियो । यससँग सम्बन्धित क्षेत्रका विषयमा जानकारी हुनुपर्ने र यसका लागि पेसा एउटा अपनाए पनि ज्ञान र सिप भने धेरै क्षेत्रको लिनुपर्छ भन्ने विद्यार्थीमा भाव बोध गराउनु क्याम्प सञ्चालन गरिएको झाको भनाइ छ ।

महानगर प्रमुख बालेन शाहको सचिवालय सल्लाहकार अनुष्का श्रेष्ठले पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता कारणले बालबालिकाहरूमा आउन सक्ने हीनताबोध हटाउन काम गरिरहेको बताइन् । बालबालिकामा हीनताबोध हटाएर आत्मविश्वास जगाउन सके समयले माग गरे अनुरुपका जनशक्ति उत्पादन गर्न सकिने उनको भनाई थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0