६ कात्तिक, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका छन् । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार पुगेका छन् । सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने राप्रपा केन्द्रीय सदस्य रविकिरण हमालले जानकारी दिए ।

उनका अनुसार आज सल्लीबजारमा कार्यक्रम गरेर नेताहरूको टोली बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर आउने छ । त्यस्तै बुधबार पश्चिम सुर्खेतको बाबियाचौर, बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालीकोट सदरमुकाम मान्म, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम तय गरिएको छ ।

राप्रपाले आफ्ना कुरा भन्ने र जनताका कुरा सुन्ने धेयका साथ कर्णाली यात्रा सुरु गरिएको केन्द्रीय सदस्य हमालले बताए । ‘यो जनता र हाम्रो दोहोरो संवाद हो । ती कार्यक्रमहरूमा हामी स्थानीयका कुराहरू सुन्छौं र नेताहरूले पनि आफ्ना कुराहरू भन्नु हुनेछ,’ हमालले भने ।

कर्णाली बदल्न सके मात्रै देश बदलिने भएकाले कर्णाली यात्रा थालिएको राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले बताए । ६ जिल्लामा ६ वटा आमसभा हुने उनले बताए । ‘यात्राका क्रममा हामी कर्णालीका नागरिकको कुरा र पीडा सुन्ने छौं । र, ती कुराहरूलाई काठमाडौँमा आएर सम्बन्धित ठाउँमा मुखरित गरिने छ,’ उनले भने ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0