सिफारिस समिति संयोजक बिरामी परेपछि धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता स्थगित

१८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँचमध्ये तीन उम्मेदवारले शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति दिन अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गर्दै यी तीन उम्मेदवारलाई बोलाइएको थियो ।

तर, सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘उहाँ बिरामी भएर निजामति अस्पताल भर्ना हुनुभएकाले आज अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति हुन सकेन,’ अर्थसचिव रामप्रसाद घिमिरेले भने ।

अब अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिको काम नहुने मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति गर्ने कार्यक्रम थियो ।

सर्टलिस्टमा परेर पनि यसअघि तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता
नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी नयाँ सिफारिस समिति बनाएको थियो ।

सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै ३० माघका लागि पेशी तोक्यो । तर, पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि बाटो खुला छ ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । यद्यपि सार्वजनिक निष्कासन लगायत बोर्डका धेरै कामहरू प्रभावित भएका छन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *