७ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै काम गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई कुँवरले उक्त निर्देशन दिएका हुन् ।

उनले व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुनपर्ने बताएका छन् ।

कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गरे ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रणलगायत अन्य आपराधिक क्रियाकलाप न्यूनीकरणमा समेत क्रियाशील हुन निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0