काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी दीपक थापाको तस्बिर र नाम दुरुपयोग गरेर धम्की दिने युवकलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालेको छ ।

विराटनगर महानगरपालिका–१ ठुलो मिल घर भएका ३० वर्षीय हेमकुमार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।’

ट्रुकलर एप्लिकेसनमा उनले सीआईबी प्रमुख एआईजी दीपक थापाको नाम र फोटो प्रयोग गरेर बैंकका मेनेजरलाई धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

बैंकका मेनेजरहरूले त्यसबारे सूचना दिएपछि ब्यूरोका अनुसन्धान अधिकृतले फोन गर्दा आरोपीले भनेका थिए, ‘ तपाईँको कुनै गुनासो भए सीआईबीको प्रवक्तालाई मेल गर्नुहोस् ।’

त्यसपछि ब्यूरोबाट खटिएको प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेको हो । खड्काले अहिलेसम्म १२ जनालाई ‘म सीआईबीको प्रमुख हुँ’ भनेर फोन गरेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0