१२ कात्तिक, काठमाडौं । सांसदहरुले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी मुद्दाका आरोपित व्यवसायीले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर सोधेका हुन् ।

राज्य व्यवस्था समितिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेको छ । सो छलफलमा अख्तियारका प्रमुख आयुक्त राई पनि बोलाइएका छन् ।

छलफलका क्रममा माओवादी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको बताइन् ।

‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ’, उनले भनिन् ।

व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए ।

सांसद राईले थप प्रश्न गरिन्, ‘सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ?’

नेपाली काङ्ग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि लिएको जगाबारे प्रश्न गरिन् ।

‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’, सांसद राईको प्रश्न छ । गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0