१६ कात्तिक, भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् ।
भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ । त्यसलै भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही अनुसार म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकैदिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।
समितिका अनुसार तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिने समितले जनाएको छ । भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।