वैशाख २२ बुटवल गते । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सुरु गरेको छ ।

पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको हो ।

काठमाडौँमा आयोजित विशेष समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सो जाउँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गर्दै रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा हुनुका साथै “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धाम समेत भएको बताए ,” “यहाँ रहेका रेसुङ्गा यज्ञ स्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकै पटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।” 

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र बिस्तार गर्न सकिने बताएका छन् । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउदै क्याबिनेट बैठक राख्ने पनि बताए । 

गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा धार्मिक तथा पर्यावरणीय रूपमा अत्यन्तै महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको भएपनि आवश्यक प्रचार प्रसारको कारण ओझेलमा परेको छ । 

समुद्र सतहदेखि दुई हजार ३४७ मिटर उचाइमा रहेको रेसुङ्गा भौगोलिक, जैविक र वनस्पतिक विविधताले भरिपूर्ण क्षेत्र रहेको छ । ऋषि महर्षिको ध्यान केन्द्रको रूपमा चिनिने रेसुङ्गामा त्रेता युगमा महर्षि ऋष्यशृङ्गले तपस्या गरेको धार्मिक मान्यता छ ।

महर्षि ऋष्यशृङ्ले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ सम्पन्न गराई रेसुङ्गाबाट लगेको जडीबुटी खुवाएपछि निःसन्तान राजा दशरथलाई राम, लक्ष्मण, भरत शत्रुध्न जस्ता पुत्ररत्न प्राप्त गरेको वाल्मीकि  रामायणको बालकाण्डको ९–१५ सम्मको सर्गमा वर्णन छ । 

महर्षि ऋष्यशृङ्लाई भेट्न भगवान् श्रीराम स्वयं रेसुङ्गा तपोभूमिमा पुगेका पाइलामा राम–सीताको मन्दिर स्थापना गरिएको छ । जहाँ पौराणिक कालका आश्रम, धर्मक्षेत्र, मठ मन्दिर, पधेरा, कुण्ड, पोखरी, जलस्रोत, पार्टी पौवा यज्ञशाला तथा धर्मशालाका भग्नावषेश समेत देख्न सकिन्छ ।

काठमाडौँबाट ३६२ किलोमिटर, बुटबलबाट ११६ किलोमिटर तथा पवित्र रुरुक्षेत्रबाट उत्तर–पश्चिम ४० किलोमिटरमा अस्थित रेसुङ्गा सडक तथा हवाई यातायातबाट सहजै पुग्न सकिन्छ ।

दुर्लभ चरा तथा विभिन्न प्रजातिका जीवजन्तु पाइने रेसुङ्गाको तपोभूमि भगवान् रामले महर्षि ऋष्यशृङ्का लागि पानी खोज्ने क्रममा वाणले पोखरी खनेको जनश्रुतिमा समेत उल्लेख गरिएको छ ।

उक्त महापोखरीमा स्नान गरी सिद्धेश्वर भगवानको दर्शन गरे मनोकामना पुरा भई सिद्धि प्राप्त भएर असल सन्तान प्राप्त हुने जनविश्वासका कारण श्रावण महिना भर भक्तजनको भीड लाग्ने गर्दछ । 

३५० भन्दा बढी खानेपानीका मूल रहेको रेसुङ्गा तपोभूभिमा टिमुर, कुरिलो, चिराइतो, चुत्रो पाषणभेद, बज्रदन्ती, सेतो बरुवा, ठुलो ओखती, भूतकैश, सतुवा, जटामसीजस्ता दुर्लभ तथा महत्त्वपूर्ण जडीबुटीका साथै अनेक वृहस्पति, लहरा, घाँस, झ्याउ च्याउ सहजै भेटिन सकिन्छ । 

२५ प्रकारका वन्यजन्तु, २५ प्रकारका घस्रिने जीव, २५३ प्रकारका चरा, १९ प्रकारका पुतीली पाइने रेसुङ्गालाई पर्यावरणीय तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने गरी ‘जाउँ हिड रेसुङ्गा’ अभियान सुरु गरिएको नगरप्रमुख खिलध्वोज पन्थीले जानकारी दिएका छन ।
भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0