२३ कात्तिक, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गरेका छन् ।
नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध छैनन् । सरसफाइ कार्यक्रम मार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् ।
मानवलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको विचार उनले राखेका छन् । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।
गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादीका उम्मेदवारले मत ल्याएका थिए ।
कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएकाले आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
कीर्तिपुरको मेयरमा एमालेले डा. सुरेन्द्र मानन्धरलाई, माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । कांग्रेस, रास्वपा लगायत दलले भने उम्मेदवार चयन गरिसकेका छैनन् ।