१३ मंसिर, हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

कन्टेनर वीरगञ्जबाट काठमाडौं जाँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

१९७४ मा निर्मित चुरियामाई सुरुङको वैकल्पिक सडकको रुपमा चुरेको डाँडो काटेर यो सडक निर्माण गरिएको थियो । सडकको दायाँवायाँ चुरे पर्वतले ढाकेको छ ।

त्यतिबेला साना सवारीलाई भारतबाट काठमाडौं लैजान नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको सुरुङ निर्माण गरेका थिए ।

४० मिटर क्षेत्रमा पहिरो खसेर लामो समयदेखि बन्द भएको यो सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बागमती प्रदेश सरकारले पुनर्निर्माण गरेको छ । यद्यपि, सञ्चालनमा आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0