१३ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ ।

स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर राजुकुमारी विश्वकर्मासहितका नेताले एमालेकी सुलोचना भण्डारी बुढालाई मत मागिरहेका बेला माओवादी केन्द्रले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएको हो ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणी पोखरेलले बुधबार जिल्ला इन्चार्ज, संयोजकसहित जिल्ला समन्वय समिति, नगर समिति र गाउँ समितिका नाममा एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न निर्देशन जारी गरेका छन् ।

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरेर जाने सहमती भएका कारण १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई समर्थन गर्र्दै मतदान गर्न माओवादीले भनेको छ । पार्टीको स्वामीकार्तिक खापर गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने र मत हाल्ने भनी गरेको निर्देशन पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत भएको समेत पोखरेलले जनाएका छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले पार्टी केन्द्रको नीतिअनुसार स्वामीकार्तिकमा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिइएको बताउँदै त्यसको पालना नगर्ने जोसुकैलाई अनुशासनको कारवाही हुने बताए ।

स्वामीकार्तिकमा माओवादीको गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि मतभेद सिर्जना भएको थियो । माओवादीको गाउँ कमिटीले भने २०८४ को चुनावमा वाम गठबन्धन गर्ने सहमतीका आधारमा उपनिर्वाचनमा एमालेलाई समर्थन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0