भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

३ असार, काठमाडौं। ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक क्रिप्टोको कारोबारी रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फ भएको देखिएपछि चिनियाँ नागरिक सोनाम गुरुङको संलग्नता खुलेको थियो ।

सेराप र शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनामलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति पक्राउ गरेको हो ।

यसअघि सुन तस्करीको आरोपमा भारतीय नागरिक सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथिकै अनुसन्धानमा सुनको भुक्तानी क्रिप्टोमार्फत सोनमलाई गर्ने गरेको खुलेपछि सीआईबीले आइतबार राति काठमाडौं-६ स्थित उनको डेराबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार सिदार्थको मोबाइलमा भेटिएका कुराकानीले सुनको भुक्तानी सोनमलाई क्रिप्टोमार्फत गरेको खुलेपछि प्रहरी उनको डेरामा पुगेको थियो । टेपले बेरेर राखेको अवस्थामा प्रहरीले ६ वटा १ किलोका सुनका बिस्कुट र ४८ लाख रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका सोनामले मुस्ताङबाट नेपाली नागरिकता लिएको समेत भेटिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । मुस्ताङबाट लिएको नेपाली नागरिकतामा उनको नाम सोनाम गुरुङ उल्लेख छ ।

सोनामले चीनबाट स्थलमार्गबाट सुन ल्याउने र भारतीय नागरिक सिद्धार्थको समूहलाई बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यसैगरी भारतको दिल्लीमा पक्राउ परेका दुई व्यक्ति नेपाली नागरिक रहेको प्रहरी स्रोतले जानकारी दियो। उनीहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

सीआईबीले अहिले ६० किलोभन्दा सुन तस्करीको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । तीमध्‍ये अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

तस्करीको सुन कारोबार सजिलो पे र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परिसकेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमध्ये २ जना दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ भने बाँकी ११ जना सीआईबीको हिरासतमा छन् ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् ।

सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ व्रह्मदत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान भनिने कान्छा लामा, राजु र टासी भोटे भनेर चिनिने कंगा चासी सीआईबीको हिरासतमा छन् ।

पेवेल प्रालिका अध्यक्ष भीमप्रसाद तिम्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकि बन्जा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुण कुमार यादव सीआईबीको हिरासतमा छन् ।

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।

१३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसूरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।

अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै २० जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणि सुब्बा मात्रै ५ लाख धरौटीमा छुटेकी थिइन् ।

एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि अहिले पनि कारागारमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *