चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

१४ असार, काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ ।

सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।

तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *