२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई असन्तुष्टि भए पार्टी संयन्त्रमा राख्न र सार्वजनिक रुपमा नबोल्न सुझाव दिएका छन् ।

सोमबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको औपचारिक फोरममा आफ्ना धारणा नराखेर सार्वजनिक रुपमा राखेको भन्दै नेताहरूले कोइरालाप्रति असन्तुष्टि व्यक्त गरे ।

मतभिन्नता भए पार्टी बैठकमा राख्नुपर्ने तर बाहिर बोल्न नहुने विचार नेताहरूले राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

‘व्यक्तिगत असन्तुष्टि, सन्तुष्टी भन्दा पनि पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि असन्तुष्टीको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी गराउँदै महतले भने, ‘असन्तुष्टिको विषय बाहिर राख्नु हुँदैन र संस्थागत तरिकाले नै मत राख्नुपर्छ ।’

कांग्रेसभित्रको मतभिन्नता ठूलो रहेछ भन्नेसमेत पर्नेगरी सार्वजनिक रुपमा बोल्न नहुने विषय नेताहरूले बैठकमा राखेको महतले सुनाए ।

बैठकमा सहभागी एक नेताका अनुसार, कार्यसम्पादन समिति सदस्य जीपछिरिङ लामाले शेखरले बाहिर बोलेको विषयबारे असन्तुष्टि पोखेका थिए । लामासहित अन्य केही सदस्यले पनि शेखरबारे असन्तुष्टि राखेका थिए । यद्यपि शेखरले भने बैठकमा केही नबोलेको ती सदस्यले अनलाइनखबरलाई बताए ।

नेता कोइराला पक्षले १८ मंसिरमा कोशीका पालिका सभापतिहरू भेला गरेका थिए । सो विषय विवादित बनेपछि पार्टीभित्रबाटै विरोध पनि भएको थियो ।

लगत्तै, २२ मंसिरमा भएको पार्टीको प्रथम कोशी सम्मेलनमा मर्यादाक्रम असन्तुष्टी जनाउँदै नेता कोइरालाले कार्यक्रम बहिष्कार गरेका थिए ।

मञ्चमा सभापति शेरबहादुर देउवा पछिको मर्यादाक्रम आफूले पाउनुपर्ने कोइरालाको माग थियो ।

प्रदेश समितिले पार्टीको केन्द्रीय वरियता अनुसार मर्यादाक्रम निर्धारण गरेको थियो । केन्द्रीय मर्यादाक्रममा उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।

सम्मेलन बहिष्कार गरेर त्यस दिन कोइराला चितवनमा आयोजित दुईवटा शोकसभामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0