३ पुस, जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिका-५ स्थित टुटेश्वर जंगलमा २३ असोजमा मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघाटा गाउँपालिका ९ का मन्दिपकुमार यादवलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

महोत्तरी गाउँपालिका–४ की अनुको शव जंगलमा असोज २३ गते भेटिए पनि सनाखत भएको थिएन । उनको सनाखत एक सातापछि असोज २८ गते बुबाले गरेका थिए ।

प्रहरीका अनुसार अनु र मन्दीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । दुवै जनाले विवाह गर्ने वाचा गरी असोज २२ गते टुटेश्वर मन्दिर गएका थिए । तर, टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाहको विषयमा दुवै जनाबीच विवाद भएको थियो । त्यस क्रममा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरी फरार भएको स्वीकार गरेको डिएसपी जयसवारले बताए ।

मन्दीपलाई मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0