पुष ३, बुटवल। बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर, पाठेघर खसेको समस्या, र तल्लो पेटसम्बन्धी अन्य स्वास्थ्य समस्याहरूको निदान र उपचारका लागि विभिन्न वडाहरूमा निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।

स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार वडा नम्बर ३ र वडा नम्बर ७ मा आयोजित शिविरबाट ३३२ जनाले सेवा लिएका छन्। यो शिविर ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। पाठेघरको मुखको क्यान्सरको सम्भावना समयमै पत्ता लगाई आवश्यक उपचारका लागि पर्याप्त समय उपलब्ध गराउन यो शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने उनले भने।

शिविरमा ३५ जनाको संकास्पद रिपोर्ट देखिएपछि उपमहानगरपालिकाले क्यान्सर रोग विशेषज्ञलाई फिल्डमै बोलाएर आवश्यक परामर्शको व्यवस्था गरेको छ।

नगर प्रमुख खेलराज पाण्डेले संकास्पद बिरामीहरूको थप परीक्षण र उपकरण व्यवस्थाका लागि विभिन्न अस्पतालहरूसँग समन्वय गरी उनीहरूलाई आवश्यक सेवा प्रदान गरिने बताएका छन्। वडा नम्बर ३ मा मंसिर २७ गते र वडा नम्बर ७ मा मंसिर २८ गते सम्पन्न भएको यो शिविर अन्य वडाहरूमा पुष दोस्रो सातादेखि सञ्चालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए।

यस अभियानले महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0