हिजोआज मानिसहरू तन्दुरुस्त र स्वस्थ रहन स्वस्थकर खानाको खोजीमा हुन्छन् । तर बजारमा केही यस्ता खानेकुरा पनि उपलब्ध छन्, जसलाई हामी स्वस्थ मान्छौं तर वास्तवमा त्यो हाम्रो शरीरका लागि हानिकारक हुनसक्छ ।

‘लो-फ्याट’, ‘अर्गानिक’, ‘ग्लुटेन-फ्री’, ‘सुगर-फ्री’ जस्ता शब्द सुनेपछि हामी सोच्छौं कि यी खाना हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुनेछन् तर वास्तवमा यस्ता धेरै उत्पादन मार्केटिङको एउटा हिस्सा मात्र हो । यस्ता खानेकुरामा लुकेको चिनी, प्रिजर्भेटिभ र अस्वस्थकर बोसो जस्ता तत्त्वले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । उदाहरणका लागि, स्वस्थ विकल्पको रूपमा मार्केटिङ गरिएको ‘होलग्रेन पाउरोटी’ जसमा प्रायः उच्च फ्रक्टोज मकैको सिरप र कृत्रिम रङ समावेश हुन्छ ।

चिनीमुक्त भनिएका चकलेट, मिठाई, बिस्कुट हामीलाई फाइदाजनक जस्तो लाग्छ । तर तिनमा चिनीको विकल्पमा माल्टोज, सुक्रोज र अन्य रसायन हालिएका हुनसक्छन् । यस्ता तत्त्वले शरीरमा चिनीको मात्रा (ब्लड सुगर) बढाउनुका साथै स्वास्थ्यमा अन्य प्रतिकूल प्रभाव पारिदिन्छन् ।

स्वस्थ भनेर प्रचार गरिने खानेकुरा
होलग्रेन पाउरोटी

हामी सामान्यतया होलग्रेन पाउरोटीलाई स्वस्थ खानेकुराको रूपमा सोच्छौं । तर यसमा होल ग्रेन नभएर मैदा, मकैको सिरप र खैरो रङ समावेश हुन्छ । थप यसमा चिनी र अस्वस्थ्यकर फ्याट पनि हुनसक्छ, जसको नियमित सेवनले तौल बढ्न सक्छ ।

डाइजेस्टिभ बिस्कुट

डाइजेस्टिभ बिस्कुटको नामबाट नै यो स्वस्थकर हो भन्ने लाग्न सक्छ । तर डाइजेस्टिभ बिस्कुट पीठो र चिनीले भरिएका हुन्छन् । यसमा धेरै क्यालोरी पनि हुन्छ । डाइजेस्टिभ बिस्कुटमा हुने ट्रन्सफ्याट, नुन र चिनीले पनि उच्च रक्तचाप, मधुमेह र मुटुरोगको जोखिम बढाउँछ । यदि डाइजेस्टिभ बिस्कुट दैनिक उपभोग गरियो भने यसले तौल पनि बढ्न सक्छ ।

बेक्ड चिप्स

हामी प्रायः बेक्ड चिप्सलाई फ्राइड चिप्स भन्दा राम्रो मान्छौं, तर यो पूर्णरूपमा स्वस्थ हुँदैन । यसमा उच्च सोडियम हुन्छ, जसले स्वाद बढाउन सहयोग गरेको हुन्छ । अत्यधिक नुन हालिएका खानेकुराको सेवन गर्नाले शरीरमा युरिक एसिड बन्ने तथा पिसाबमा एल्बुमिनको मात्रा बढी हुन्छ । जसले रक्त धमनीहरूलाई क्षतिग्रस्त बनाउने जोखिम हुन्छ ।

प्लान्ट बेस खानेकुरा

प्लान्ट बेस खानेकुराको नाम सुन्ने बित्तिकै हामी त्यसलाई स्वस्थकर मान्छौं तर कहिलेकाहीं त्यसमा लुकेको एडिक्टिभ र प्रिजर्भेटिभ पनि हुनसक्छ । उदाहरणका लागि, केही प्याकिङ गरिएका तरकारी खानेकुरामा धेरै चिनी, नुन र अन्य हानिकारक रसायन हुनसक्छन्, जुन दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ ।

प्रोटिन सेक

प्रोटिन सेकलाई स्वस्थ आहारको हिस्सा मानिन्छ, तर यसमा ठूलो मात्रामा चिनी र एडक्टिब्स समावेश हुन्छ । धेरै प्रोटिन सेकहरूमा अतिरिक्त चिनी र रङ हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । फिटनेसका लागि प्रोटिन शेक लिइरहेका व्यक्तिले त्यसको सामग्रीमा ध्यान दिनु जरुरी छ ।

सोया दूध

सोया दूधलाई पनि एक स्वस्थ विकल्पको रूपमा हेरिन्छ, तर यो प्रायः चिनी र प्रिजर्भेटिभले भरिएको हुन्छ । स्वादयुक्त सोया दूधमा सामान्य सोया दूध भन्दा अन्य तत्त्व समावेश हुनसक्छ, जसकारण यो स्वास्थ्यका लागि बढी हानिकारक हुनसक्छ । यस्तो सोया मिल्क सेवन गर्दा त्यसमा भएका तत्त्वको जाँच गर्नुपर्छ ।

नक्कली स्वस्थ खाना कसरी चिन्ने ?

नक्कली स्वस्थ खानाहरू चिन्न पहिले तिनीहरू के-के सामग्रीबाट बनेका हुन् भनेर ध्यानपूर्वक पढ्नुपर्छ । स्वस्थ खानामा कम–फ्याट, ग्लुटेन–फ्री र जैविक जस्ता शब्द प्याकेटको लेबलमा लेखिएको हुन्छन्, तर यीबाट भ्रमित हुनु हुँदैन । ती खानेकुरा साँच्चै स्वस्थ हो कि हैन भनेर थाहा पाउन खाद्य पदार्थको सामग्री सूचीलाई ध्यानपूर्वक हेर्नुपर्छ । उच्च चिनी, कृत्रिम रङ वा संरक्षकहरू जस्ता हानिकारक तत्त्व पहिचान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0