काठमाडौँ । शनिवार बेलुका ८ बजेदेखि मतगणना गर्ने भनिएको अनेरास्ववियु (क्रान्तिकारी) को विशेष र विश्वविद्यालय प्रदेशमा पूर्वाअनुमानले निम्त्याएको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । मतगणनाअघि आचार संहिताबारे सर्वपक्षीय बैठक बसेको थियो ।
छलफलको क्रममा कस्तो मतलाई फर्जी मान्ने वा नमान्ने विषयमा विवाद भएको थियो । मतपत्रमा प्रयोग भएको रातो (साइन पेन) भन्दा फरक रङ्ग भएको साइन पेन प्रयोग गरिएमा के गर्ने भन्ने विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षबिच विवाद उत्पन्न हुँदा मतगणना रोकिएको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए ।

‘सर्वपक्षीय बैठकमा छलफल भइरहेको छ । विवाद मिलेको छैन । मतगणना भएपछि विवाद भएको होइन । पहिले नै फरक फरक रङकाे साइन पेन प्रयोग भएमा के गर्ने भन्ने विषयमा विवाद भएको हो । विजयजी पक्षले मतपत्रमा टिक जुनसुकै रङ्गको साइन पेन प्रयोग भए पनि मान्यता दिनुपर्ने अडान राखेका थिए । हेमन्तजी पक्षधरले निर्वाचन समितिले राखेको रातो रङ्गकै साइन पेन प्रयोग गर्नुपर्ने अडान राखेका थिए । यही विवादका कारण मतगणना अगाडि बढेको छैन । अहिले पनि सहमतिको प्रयास भइरहेको छ’, कार्कीले भने ।

यता फ्याक्सन इन्चार्ज आचार संहिता सम्बन्धमा कुरा नमिल्दा मतगणना रोकिएको बताए । सर्वपक्षीय सहमतिको आधारमा मतगणना सुरु गर्ने पहल भइरहेको जानकारी दिए ।

‘आचार संहिता कसरी पालना गर्ने भन्ने विषयमा कुरा नमिलेकाले केही मतगणनामा केही ढिलाइ भएको छ । सर्वपक्षीय सहमतिकै आधारमा मतगणना कार्य अगाडि बढाउने प्रयास भइरहेको छ’, शर्माले भने ।

भूगोलको सात प्रदेशमा मतगणना कार्य अन्तिम चरणमा पुग्दा समेत सबैभन्दा मतदाता बढी भएको यी दुई प्रदेशको मतगणना अगाडि बढ्न सकेको छैन । विशेष प्रदेशमा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको निर्वाचन समितिले जनाएको छ । सात प्रदेशको अन्तिम परिणाम आउँदा अध्यक्षमा सापकोटा २० मतका साथ अग्रता लिएका छन् । उनको ४८१ मत हुँदा राईको ४६१ मतका साथ पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0