
१७ माघ, वासिङ्टन । अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको अधिकारीले बताएका छन् ।
बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको, तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्यमा अत्यन्त कठिन उत्पन्न भएको उद्धारकर्मीहरूले बताएका छन् ।
वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफमा कठिन अवस्थाको सामना गर्नुपरेको जानकारी दिए । उनले भने, ‘करिब तीन सय आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेका छन् ।’
स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी, हेलिकप्टरमा तीनजना थिए । अहिलेसम्म १८ वटा शव फेला परेको छ ।

