![](https://resungakhabar.com/wp-content/uploads/2024/12/rectangle-ad.gif-1.gif)
पोखरा । पोखरामा फागुन दोस्रो साता विराट चक्र विज्ञान हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा पहिलो पटक ठुलो सङ्ख्यामा कार्यक्रम हुन लागेको हो । आयोजकले यसलाई गण्डकी स्वजागरण उत्सव पनि भनेको छ ।
फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ र ११ गतेदेखि १७ गतेसम्म ‘विराट चक्र विज्ञान’ कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । पोखरा रङ्गशालामा हुने उक्त कार्यक्रममा ३० हजार भन्दा बढीको उपस्थिति रहने प्रतिष्ठानका व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए ।
योग, ध्यान र समाधि साधनाका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनागत विकासमा सहयोग पुर्याउन कार्यक्रमले योगदान दिने उनले सुनाए ।
बिहीबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराइएको हो । कार्यक्रममा सहभागी हुनेले ७ दिनका लागि १० हजार शुल्क तिर्नुपर्छ । उक्त रकम सहभागीको खानामा खर्च हुने अधिकारीले जानकारी दिए ।
७५३ वटै पालिकाबाट सहभागिता रहने आयोजकको दाबी छ । जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माका अनुसार जीवन विज्ञानले हालसम्म विश्वभर ७० भन्दा बढी देशका ४० लाख व्यक्तिसँग प्रत्यक्ष काम गरिरहेको छ ।
‘पालिका, प्रदेश र सङ्घ सरकारबाट पनि दर्ता भइरहेको छ । व्यापक उपस्थितिमा यो कार्यक्रम हुँदैछ,’ भानुले भने, ‘२–४ हजारको उपस्थितिमा कार्यक्रम भइरहेको थियो । यति ठुलो सङ्ख्यामा पहिलो पटक हुँदैछ ।’
पोखरा भ्रमण वर्षको छेकोमा कार्यक्रम हुने भएकोले महानगरले समेत विशेष चासोका साथ समर्थन गरिरहेको मेयर धनराज आचार्यले बताए ।
‘पोखराले यसलाई महत्त्वपूर्ण रूपमा लिएको छ । गत वर्ष लुम्बिनीमा कार्यक्रम भएपछि हामीले पोखरामा गर्न आग्रह गरेका हौँ’ आचार्यले भने, ‘२०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाउन गइरहेका छौँ । त्यसमा यो कार्यक्रमले ठुलो साथ दिनेछ ।
कार्यक्रमका लागि दैनिक हजारौँ नागरिकहरूसँग भेट भइरहेको आयोजकले जनाएको छ ।
![](https://resungakhabar.com/wp-content/uploads/2024/12/AD-VIDEO.gif)
![](https://resungakhabar.com/wp-content/uploads/2024/12/BuCCI-STALL-BOOKING-1-1.gif)