७ भदौ, काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङका पालिका उत्कृष्ट ठहरिएका छन् । स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन्।
नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।
त्यस्तै, गाउँपालिकातर्फ समान अंक पाउँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका दोस्रो भएका छन् । दाङको राप्ती गाउँपालिका तेस्रो भएको छ ।
उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।