सन् २००४ को अगस्तमा गेरुवस्त्र लगाएर म घरबाट निस्कें । कहाँ जानु छ, मलाई थाहा थिएन, कुनै योजना थिएन । घरबाट निस्कँदा बुबालाई काशी गएर गङ्गामा पहिला स्नान गर्ने र त्यसपछि मात्र आफ्नो खोज आरम्भ गर्ने भनेको थिएँ तर म सीधै पूर्वतिर लागें । मेरो साथमा रामानन्द पनि थियो । उसले आफूलाई मेरो चेला भनेर परिचय गराउने गर्दथ्यो ।

बाटामा धेरै ठाउँमा सैनिकले हामीलाई रोके । तिनीहरूले यात्रीलाई बसबाट ओर्लिन भन्थे र सबै सर-सामान जाँच गर्थे । मलाई याद छ, एक ठाउँमा सैनिकले मेरो झोलाबाट एक-एक सामान बाहिर निकालेर टेबलमा थुपार्दै राम्ररी जाँचेको थियो । मेरो झोलामा केही लुगा र किताबहरू थिए । किताबहरूमध्ये गान्धीको ‘सत्य के प्रयोग वा आत्मकथा’, योगानन्दको ‘अटोबायोग्राफी अफ् अ योगी’, आइन्स्टाइनको ‘आइडियाज एन्ड अपिनियन्स’ र साईबाबाको किताब थियो । झोलामा मेरा एक-दुई डायरी पनि थिए ।

सैनिकले मेरो डायरीभित्र पल्टाएर हेर्‍यो तर पढ्न कठिन मेरा लेखाइ शायद उसका लागि त्यति चासोको विषय बनेन । समस्या त आइन्स्टाइनको किताबले उब्जाएको थियो । त्यो किताबको नामले गर्दा त्यो कुनै राजनीतिक र उत्तेजना जगाउने किताब हो कि भनेर सैनिकले मलाई नराम्ररी सोधपुछ गर्न थाल्यो । आइन्स्टाइन कुनै ‘क्रान्तिकारी’ नभएर महान् वैज्ञानिक भएको र त्यो किताब ‘राजनीतिक’ नभएको कुरा मैले भएभरको मीठो आवाजमा सुस्तरी तिनलाई सम्झाएँ र अन्त्यमा तिनले हामीलाई जान दिए । त्यो दिन मैले माक्र्स वा माओका कुनै किताब बोकेको भए शायद मेरो यात्रा त्यहीं टुङ्गिन्थ्यो ।

हामीले मेची नदी पार गर्‍यौं र सिलिगुडीबाट कलकत्ताका लागि रेल समात्यौं । कहाँ जाने थाहा नभएकाले टिकट बूक गरेको थिइनँ । त्यो त्यहाँबाट समात्न सकिने पहिलो रेल थियो । त्यसरी नै स्टेशनमा पुगेपछि त्यहाँ उपलब्ध हुने रेल वा बस समात्दै म एक ठाउँबाट अर्को ठाउँको यात्रा गरिरहें । टिकट त म स्लिपर क्लासकै किन्थें तर अन्तिम घडीमा लिएकाले नाम जहिले पनि प्रतीक्षासूचीमै हुने गथ्र्यो । हामीले प्रायः दोस्रो दर्जामै उभिएर वा ढोका नजिक झुन्डिएर वा भुइँमा बसेरै यात्रा गर्नुपथ्र्यो । त्यसरी यात्रा गर्दै मैले रेलमै हप्तौं बिताएँ र त्यस क्रममा सबै किसिमका मान्छे, भूभाग र ठाउँ नियाल्ने मौका पाएँ ।

हाम्रो दिमागलाई भगवान् ती हुन्, जसले हाम्रो घाउ भर्न सक्छन् भनेर सिकाइन्छ । तर के थाहा, भगवान् हामीलाई कहिल्यै पनि नभर्ने घाउ दिने पनि हुन सक्छन् । हामीलाई सान्त्वना दिने भगवान् हुन् भनेर सिकाइन्छ तर के थाहा, भगवान् अनन्तसम्मै चोट पुर्‍याउने पनि हुन सक्छन् ।
एक रात रेलडब्बाको ढोकानिर, शौचालय अगाडि भुइँमा बस्दै हामी आफ्नो रात बिताउँदै थियौं । यात्रीहरूले आफ्नो खुट्टा मेरो काँध माथिबाट घसार्दै जब शौचालयको ढोका खोल्थे, निकै तीखो दुर्गन्ध ह्वास्सै नाकभित्र पस्थ्यो । हामीसँगै दुई-चार जना स्थानीय ठिटा पनि थिए । तिनीहरू कुनै स्थानीय भाषामै बोल्थे । दक्षिण भारतको कुरा भएर होला, म बुझ्न असमर्थ थिएँ । तिनीहरूसँग म अङ्ग्रेजीमा कुरा गर्थें । कुराकै क्रममा तीमध्ये एकले सोध्यो, ‘त्यसो भए तिमी बेहुली खोजिरहेका छौ ।’

‘अहँ, म भगवान् खोजिरहेको छु’ उसले कुरा पूरा गर्न नपाउँदै मेरो मुखबाट झट्ट निस्कियो । एकछिनपछि उसलाई मैले के भन्न पुगेछु भनेर सोचें । अलि अनौठो लाग्यो, स्टेशनको ‘लस्ट एन्ड फाउन्ड’मा रिपोर्ट लेखाएर भगवान् पाउन सकिने झैं आफ्नो कुरा हल्का पाराको लाग्यो ।

यात्राका क्रममा किसिम-किसिमका मान्छे रेलभित्र आउने-जाने गर्थे । एक ठाउँमा केही हिंजडाहरू रेलडब्बामा छिरे । तिनीहरू यात्रुअगाडि थपडी बजाउँदै पैसा माग्ने गर्थे । म तिनीहरूतिर पटक्कै हेर्दिनथें । तिनीहरू आउनासाथ झ्यालबाट अन्यत्र कतै हेरिरहन्थें । रामानन्दलाई मैले सिक्काहरूको पोको नै दिएको थिएँ र उसले नै तिनीहरू र अन्य माग्नेहरूलाई पैसा दिने गथ्र्यो । त्यसपटक पनि हिंजडाहरूतिर मैले हेरिनँ र आफ्नो नजर दृढताका साथ सिटको बीचमा रहेको टेबलमा राखिएको साईबाबाको किताबमाथि अड्याइरहें ।

किताबमाथि साईबाबाको मनोरम तस्वीर थियो । म त्यसमै लीन हुँदा एउटा हिंजडाले मेरो मुखअगाडि ताली बजाउँदै, ‘म पनि त साई हुँ, मतिर हेर’ भन्न थाले । मैले अझै पनि ऊतिर हेरिनँ । ऊ डब्बाबाहिर गयो । ऊ गइसकेपछि उसले के भनेको भनेर मैले विचार गरें । उसको आवाज मेरो कान र अन्तरात्मामा अझै प्रतिगुञ्जित भइरहेको थियो । के गर्न पुगेछु भन्ने महसुस हुनासाथ म उसको पछाडि दौडें । तर ऊ गइसकेको थियो, आँखाबाट ओझेल भइसकेको थियो, विलीन भइसकेको थियो, शायद सदाका लागि ।

जादूगरी देखाउँदै गरेका कुनै मर्दाना पुरुषलाई भगवान्को रूपमा देख्न सिकाइएको मेरो दिमागले त्यसभन्दा बढी देख्न सकेको थिएन । भगवान् हिंजडा पनि हुनसक्छ । उसको नयनमा नहेर्ने मेरो चेष्टा र आफ्नो ‘एप्रायरी बायस’का लागि मलाई पछुतो लाग्यो । के थाहा, उसकै आँखामा म सत्य, स्वर्ग, शान्ति र निर्वाण पाउँथें कि !

हाम्रो दिमाग अभ्यस्त छ, दिन सक्ने कुनै धनी भगवान्का लागि किनकि मान्छे सदा लिन चाहन्छ, नअघाइकन कहिले यो, त कहिले त्यो । त्यही भएर भगवान् त्यही हुन गएको छ, जसले दिन सक्छन् । तर के थाहा, भगवान् हामीसँग भएका सबै कुरा हरण गर्न सक्ने गरी नै गरीब पनि हुन सक्छ ।

कन्याकुमारीदेखि रामेश्वरम्सम्म म अनेकौं मन्दिर र पावन स्थलहरूमा गएँ । पवित्र मन्दिरहरूको द्वारमा आफ्नो मस्तक रगडें, आरतीको ज्योतिले आफ्ना परेलीहरू सेकें, गूढ मन्त्रको जप गर्दै ध्यान गरें, आत्मा छुने भजनहरूमा झुमें । आफ्नो सबै पाप र अपवित्रता पखाल्न रामेश्वरम्मा एकपछि अर्को गर्दै २२ कुण्डको पवित्र जलले स्नान गरें
हाम्रो दिमागलाई भगवान् ती हुन्, जसले हाम्रो घाउ भर्न सक्छन् भनेर सिकाइन्छ । तर के थाहा, भगवान् हामीलाई कहिल्यै पनि नभर्ने घाउ दिने पनि हुन सक्छन् । हामीलाई सान्त्वना दिने भगवान् हुन् भनेर सिकाइन्छ तर के थाहा, भगवान् अनन्तसम्मै चोट पुर्‍याउने पनि हुन सक्छन् । हामीलाई राम्रा आशीर्वादहरूले धन-धान्य गर्ने भगवान् हुन् भनेर सिकाइन्छ । तर के थाहा, उद्धारै नहुने गरी हामीलाई अभिशप्त गर्ने पनि भगवान् हुन सक्छन् । कर्णप्रिय मृदुवाणीले परिपूर्ण देवदूत जस्ता भगवान् हुन्छन् भनेर सिकाइन्छ । तर के थाहा, भगवान् रूखो र अशिष्ट पनि हुन सक्छन् । उद्धारकर्ता भगवान् हुन् भनेर सिकाइन्छ तर के थाहा हामीलाई, कुनै अग्ला टावरमाथिबाट फाल्ने पनि भगवान् हुन सक्छन् ।

जीवन बचाउने मात्र भगवान् हुन सक्दैनन्, हामीलाई कुनै गतिशील रेलअगाडि ट्रयाकमा फालिदिने पनि भगवान् हुन सक्छन् । जीवन र प्रेमका बारेमा मीठा रमणीय कुराहरू गर्ने मात्र भगवान् हुँदैनन्, हामीलाई अथाह कुवामा धकेल्ने पनि हुन सक्छन् । के थाहा ? भगवान् नै उत्तर हुन् र उत्तर नै भगवान् !

त्यस घटना पश्चात् मैले हरेक आँखाहरू नियाल्ने प्रयास गरें । हरेक कुरा, हरेक मान्छेमा हेर्ने प्रयास गरें । मैले हिंजडाका आँखामा पनि उत्तिकै स्नेहपूर्वक हेरें । माटाका भाँडामा चिया बेचिरहेका बच्चाहरूका आँखामा हेरें, फुटपाथमा सुतेका अपाङ्गका आँखामा हेरें, स्टेशनमा मागिरहेका अन्धाहरूका आँखामा हेरें, सबै बटोहीहरूका बाटामा हेरें । भगवान्लाई मैले हिप्पीहरूको गीतमा खोजें, सुफीहरूको सङ्गीतमा खोजें, भक्तहरूको भजनमा खोजें । भगवान्लाई मैले जहाँसुकै खोजें ।

मलाई समयको ख्याल हुन छोडिसकेको थियो । स्टेशनहरू अप्रासङ्गिक थिए र गन्तव्य मतलबहीन । मान्छेहरू आउँथे, जान्थे । भिखारीहरू चढ्थे, ओर्लिन्थे । तिनीहरू आए, तिनीहरू गाए, तिनीहरू गए । बाँकी रह्यो, तिनीहरूले गाएको गीतको गुञ्जन । हुँदाहुँदा अनादिदेखि आफ्नो अस्तित्व रहेको आभास हुन थाल्यो, कणकणमा आफैं समाहित भएको लाग्न थाल्यो ।

शुरुका दिनहरूमा पापी मान्छेहरूको स्पर्शले म अशुद्ध होउँला कि जस्तो लाग्थ्यो । आइमाई र हिंजडाको स्पर्शले अशुद्ध हुन पुगुँला कि जस्तो लाग्थ्यो । भीष्म पितामहको ब्रह्मचर्यबाट प्रभावित म आफ्नो पवित्रता गुमाउँला कि भनेर डर लागिरहन्थ्यो । तर मैले छिट्टै थाहा पाएँ-मान्छेले अझै पनि गुमाउन केही बाँकी छ भने उसले भगवान्लाई खोज्नै सक्दैन ।

म धेरै ठाउँहरू गएँ, ठूला शहरहरूमध्ये भन्नुपर्दा कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बैङ्गलोर र रामेश्वरम् गएँ । साईबाबाको शरण गुहार्दै म पुट्टपर्थीको प्रशान्ति निलयम गएँ । त्यहाँ आफ्नो मनमा रहेका अनेकौं प्रश्नहरू उत्तरित भएको पाएँ । कुनै सागरमा नदी बिलाएझैं मैले आफूलाई विलीन भएको पाएँ, एक भएको पाएँ ।

कन्याकुमारीदेखि रामेश्वरम्सम्म म अनेकौं मन्दिर र पावन स्थलहरूमा गएँ । पवित्र मन्दिरहरूको द्वारमा आफ्नो मस्तक रगडें, आरतीको ज्योतिले आफ्ना परेलीहरू सेकें, गूढ मन्त्रको जप गर्दै ध्यान गरें, आत्मा छुने भजनहरूमा झुमें । आफ्नो सबै पाप र अपवित्रता पखाल्न रामेश्वरम्मा एकपछि अर्को गर्दै २२ कुण्डको पवित्र जलले स्नान गरें । एउटा नवयुवक गेरुवस्त्र धारण गरेको देख्दा यात्राका क्रममा मान्छेहरू केही चकित हुँदै मतिर टोलाउँथे । कोही सहानुभूति पोख्थे, त कोही मलाई घर फर्केर गृहस्थ-परिवार सम्हाल्न भन्थे भने कोही हाँस्थे ।

म निर्वाणको बाटोमा अग्रसर भएको थिएँ । सांसारिक मोह र संसारलाई त्यागेर हिंडेको थिएँ । तर संसारले मलाई छोडेको थिएन । मेरो परिचयले मलाई छोडेको थिएन । राष्ट्रियताले मलाई छोडेको थिएन । म फकिर नै भइसक्दा पनि आफ्नो राष्ट्रिय पहिचानले मलाई छोडेको थिएन र अझै सताउँथ्यो । ट्रेनमा, होटलमा, मन्दिरको द्वारमा प्रश्न खडा भइहाल्थ्यो, ‘तपाईं कहाँबाट हो ?’

नेपालबाट भनेर उत्तर दिएपछि ‘नेपाली जस्तो त देखिनुहुन्न’ भन्ने चिरपरिचित वाक्य मेरो गालामा थप्पड झैं बजारिन पुग्थ्यो । उनीहरूले शंका गर्थे, म दोहोर्‍याउँथें । झन् सशंकित, तिनीहरू मेरो परिचयपत्र माग्थे । रेलभित्र पनि यात्रीहरूले मेरो नागरिकता र पासपोर्ट माग्थे । होटल, बैंक वा टिकट काउन्टरको त कुरै छोडौं । म यस संसार र सांसारिकताबाट टाढा हुन खोज्दा, देश-राष्ट्र र सीमा परको आध्यात्मिक दुनियाँको पात्र हुन खोज्दा पनि नागरिकता र राष्ट्रियताको सवालले मलाई छोडेन । तिनीहरूले मलाई नराम्ररी पछ्याइरहे ।

म विचार गरिरहन्थें— म यस पासपोर्टलाई किन छोड्न सक्दिनँ, यस नागरिकताको कागजलाई किन छोड्न सक्दिनँ, आखिर मैले आध्यात्मिक दुनियाँमा आफूलाई यी भौतिक, भौगोलिक र राजनीतिक सीमाहरू पर राखेको छु तैपनि किन म कुनै देशको हुनुपर्‍यो ? तैपनि किन कुनै देशको भएको प्रमाणित गरिरहनुपर्‍यो ?

मान्छे र समाजबीच बसिरहँदा राष्ट्रिय पहिचानबाट मुक्ति पाउनु असम्भव लाग्यो । मान्छेहरू नभएको कुनै घना जङ्गलतिर भाग्ने मन भयो । हिमालय गएर कुनै गुफामा तपस्या गर्ने मन भयो । हाम्रा ऋषि-महर्षिले गरेझैं कैलाश पर्वतमै गएर बस्ने र ध्यान गर्ने मन भयो तर केही दिनपश्चात् मेरो मनमा अर्को आवाज उठ्यो । यहाँ, भारतमा म आफ्नो परिचयपत्र वा नागरिकता देखाउन चुकें भने बढीमा जेल सजाय होला तर हिमालयको गुफामा, कैलाश पर्वतमा बस्दा मैले आफ्नो नागरिकता देखाउन सकिनँ भने के होला ? मलाई गोली नै हान्न सकिनेछ, फाँसी नै दिन सकिनेछ । हिमालयमा पाकिस्तान वा चीनतिर समातिएँ र आफ्नो परिचयपत्र देखाउन वा आफ्नो नागरिकता प्रमाणित गर्न असफल भएमा कुनै जासूस वा घुसपैठियाको आरोपमा तिनीहरूले मलाई गोली नै हान्नेछन् ।

म जोगी हुन हिंडेको थिएँ, म अनन्तमा आफूलाई विलीन पार्न हिंडेको थिएँ, सबै कुरा त्यागेर आफ्नो अस्तित्व परमात्मामा मिलाउन हिंडेको थिएँ । तर त्यो ठाउँ नै कहाँ छ, जहाँ मसँग नागरिकता नमागियोस्, जहाँ मलाई मेरो पहिचानको आवश्यकता नहोस् ? यस ग्रहमा राष्ट्रिय पहिचान विना कुन ठाउँमा उभिन दिइन्छ ? यस धरतीमा राष्ट्रिय पहिचान विना कुन ठाउँमा जान दिइन्छ ? यस भूलोकमा राष्ट्रिय पहिचान विना कुन सिमाना नाघ्न दिइन्छ ?

यस किसिमका प्रश्नहरूका बीच म यताउति भौंतारिइरहें । बेचैन, सर्वशक्तिमानको चरणमा शरणको मलाई प्रगाढ इच्छा भयो । अनि एक दिन एउटा आवाज सुनें, ‘मैले तिमीलाई त्यहाँ दास बन्न पठाएको होइन, बल्कि एउटा स्वतन्त्र मानव । म तिमीलाई एउटा मुक्तमानवका रूपमा पठाएँ र स्वतन्त्र मानवकै रूपमा तिमी मकहाँ आएको देख्न चाहन्छु, दासको रूपमा होइन । दासहरूका लागि मकहाँ कुनै स्थान छैन । जन्मँदा तिमीलाई दिएको आत्मसम्मान खै त ? जन्मँदा तिमीलाई दिएको स्वतन्त्रता खै त ? अरू कुरा मसँग माग्नु पहिला मैले दिएका ती कुराहरू लिएर आऊ, आत्मसम्मान र स्वतन्त्रता लिएर आऊ । जाऊ, ती कुराहरू पहिला खोज, अनि मात्र मलाई खोज्नू । अहिले तिमी केवल भगौडा हौ र तिनीहरूका लागि यसअगाडि कुनै मार्ग छैन ।’

हुन सक्छ, मेरो अन्तरात्मा नै मसँग बोलिरहेको थियो तर कुरा प्रस्ट थियो । पहिचानबाट भाग्ने कुनै चारा थिएन । म को हुँ भनेर आफ्नो पहिचान अस्वीकार गरेर अगाडि बढ्ने कुनै बाटो थिएन । त्यो मेरो अस्तित्वकै हिस्सा थियो, मेरै हिस्सा थियो । मान्छे सबै कुराबाट मुक्त हुन सक्छन् तर आफ्नो पहिचानबाट होइन । हिमालयको गुफामा जाऊन्, कि घना जङ्गलमा लुकून्, पहिचान विना कतै कुनै स्थान छैन । त्यहाँ पनि ऋषि बनेर ध्यान-तपस्या गर्न लागियो भने कुनै देशका सैनिकले त्यो उसको भूमि हो भन्दै जेलमा कोचिदिनेछन् । मान्छे पुगेको त्यस्तो कुनै स्थान छैन, जहाँ सैनिकको आधिपत्य नहोस्, जहाँ पहिचान बेगर, राष्ट्रियता बेगर मान्छेलाई पाइला टेक्न देओस् । मलाई लाग्यो, पहिचानको ब्रह्मज्ञान मैले भेट्टाएँ ।

(बुकहिलद्वारा प्रकाशित डा. सी.के. राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’को अंश ।)

सप्ताहन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0