विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

२१ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कतिपय निजी विद्यालयले महँगो शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अनेक शीर्षकमा विद्यालयहरूले शुल्क असुल्ने र अभिभावकहरूलाई पीडा दिने काम गरिरहेको टिप्पणी गरे ।

‘नानी–बाबुहरू विद्यालय जान पाउँदा खुसी छन् । तर उनीहरूका अभिभावकको दुःख बेग्लै छ । कारण विद्यालयहरूले भर्नाको नाममा महँगो शुल्क असुलिरहेका छन्,’ बस्नेतले भने, ‘विद्यालयले भनेकै पसलमा, भनेकै मूल्यमा पोशाक र किताब किन्नुपर्ने बाध्यता छ । यस्तो विषयमा सरकारले बोल्नुपर्दैन ?’

एकपटक भर्ना भएका विद्यार्थीले सोही विद्यालयको अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन भनिए पनि धेरै निजी विद्यालयले वार्षिक शुल्क असुलिरहेको बस्नेतले बताए । उनले भने, ‘अभिभावक एउटा बच्चाका लागि ६०–७० हजार रुपैयाँ जोहो गर्नुपर्ने तनावमा छन् ।’

यसलाई रोक्ने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘महँगो शुल्क तिर्न नसक्दा अभिभावकहरुले मन लागेको विद्यालयमा आफ्ना छोराछोरी पढाउन सकिरहेका छैनन् ।’

निःशुल्क शिक्षा र शिक्षामा समान अधिकारको नारा कागजमा मात्रै सीमित भएको बस्नेतले बताए । उनले अगाडि भने, ‘अनेक स्टन्ट गर्ने शिक्षा मन्त्री कुनै अमुक विद्यालयको मात्र प्रचारमा व्यस्त हुनुहुन्छ ।’

बस्नेतले शिक्षामन्त्री सुमना श्रेष्ठ आफ्ना मान्छेलाई कसरी जागिर खुवाउने भन्ने मात्र चिन्तामा रहेको आरोपसमेत लगाए । हालै ल्याएको प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि चोरबाटोबाट आफ्ना मान्छेलाई जागिर खुवाउने प्रपञ्च मात्र भएको बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *