नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो ।

आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदको हातबाट समातिन पुगे ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको छैटौं ओभरको सट बलमा जेम्श म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए ।

त्यसपछि क्रिजमा आएका पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो ।

उनी आउट भएपछि मध्यक्रमका ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए ।

तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए । डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकाश आग्री र साहब आलमले १(१ विकेट लिए । तीन खेलको सिरिज एक खेल अगावै नेपालले गुमाई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *