बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ, अनुसन्धान गर्दै प्रहरी

३० चैत, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ ।

गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिए ।

यो घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पनि उनले बताए । ‘सत्य लामा सहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बोधिचित्तको रूख काट्ने र तर्साउनका लागि विस्फोटक पदार्थ राख्ने मान्छेको पनि पहिचान भइसकेको छ, पक्राउ गर्न भने बाँकी छ’, उनले भने ।

बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *