कास्की । रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले संयमता अपनाउन अपिल गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।

पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अदालत नजिकै दुई पक्ष (रवि पक्षधर र सहकारी पीडित पक्षधर) भेला हुन थालिसकेका छन् ।

रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम सुरु भइसकेको छ ।

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ ।

राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ ।

सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0