५ कात्तिक, काठमाडौं। सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सोमबार पनि पोखरामा प्रदर्शन गरेका छन् ।

पृथ्वी चोकमा भेला भएका रास्वपा नेता कार्यकर्ताहरुको विरोध प्रदर्शन नयाँबजार–महेन्द्रपुल हुँदै चिप्लेढुङ्गामा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री सुमना श्रेष्ठ, सांसदहरु गणेश पराजुली, हरि ढकाल, विनिता कठायत लगायतले सम्बोधन गरेका थिए ।

सहमहामन्त्री श्रेष्ठले पोखरेलीलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दै भनिन्, ‘अब त सरकारको रजगज बुझ्नुस् । म थाक्दिन तपाईंहरु पनि थाक्न पाउनुहुन्न ।’

सहकारी पीडितले न्याय नपाएसम्म रास्वपाको आन्दोलन नरोकिने श्रेष्ठले दाबी गरिन् । वचतकर्ताको रकम फिर्ताका लागि कोष खडा गर्न उनले सरकारसँग माग गरिन् ।

‘सञ्चालक÷सञ्चालक संगठित छन् । एउटै सञ्चालक ४÷५ वटामा छन् । हाम्रो मिहिनेतको आँशु लाग्छ’, श्रेष्ठले कोण सभामा भनिन् ।

कांग्रेस र एमालेको सरकारले जनताको आवाज उठाउनेलाई घाँटी न्याक्ने कार्य गरेको उनले आरोप लगाइन् । सरकारले राजनीतिक दल फुटाउने नियतले अध्यादेश ल्याउन लागेको पनि सहमहामन्त्री श्रेष्ठले टिप्पणी गरिन् ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले आफ्नो सभापतिलाई नियतवश पक्राउ गरिएको पोखराले बुझिसकेको बताए । देशको सबै कुरा पोखराले बुझेको बताउँदै बुर्लाकोटीले भने, ‘२०४६ र २०६२/६३ को आन्दोलनमा पनि पोखरालाई जाग्न केही समय लागेको थियो । पोखरा यसपटक जागिसकेको रहेछ ।’

सांसद गणेश पराजुलीले पोखराको पर्यटन प्रवद्र्धनमा काम गर्ने बेला न्यायका लागि प्रदर्शन गर्नुपर्ने बाध्यता रहेको बताए । पराजुलीले विरोध प्रदर्शनले पोखरेलीलाई असर पुगेको भए क्षमा दिनसमेत आग्रह गरे ।

सहकारी छानबिन समितिले सभापति लामिछाने अपलचनमा सहभागी नभएको तथ्य सहितको प्रतिवेदन दिएको पराजुलीको दाबी थियो । अर्का सांसद हरि ढकालले पोखराबाट फैलिएको मसाल २०८४ सालसम्म देशभर फैलिने दाबी गरे ।

आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई बुधबारसम्म थुनामा राख्न आदेश दिएको छ । रास्वपाले बुधबारसम्म निरन्तर पोखरामा प्रदर्शन निरन्तर गर्ने जानकारी गराएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0