९ माघ, काठमाडौं । नेपालबाट काम खोज्दै मासिक औसत ६५ हजार ५ सय ११ युवा विदेशिएको तथ्यांक सार्वजनिक भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार मासिक साढे ६५ हजार युवा कामको खोजीमा विदेश उड्ने गरेको देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७ हजार १ सय ५ महिला छन् ।
पुस मसान्तसम्म २ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा विदेश गएका छन् । ईपीएस कोरिया र इजरायलमा भने कुल ४ हजार ८ सय १४ युवा गएको तथ्यांकमा देखिन्छ ।
यूएई प्रमुख गन्तव्य
यस अवधिमा नेपालीको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) देखिएको छ । यूएईमा पुस महिनामा मात्र २१ हजार १ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै साउदी अरब १३ हजार ६ सय ४२, कतार ११ हजार ९ सय ८३ , कुवेत ६ हजार ५०, मलेसिया ३ हजार १ सय ७५, जापान १ हजार ९ सय ४६ र क्रोएसियाका लागि १ हजार १ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् ।
पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा यूएईमा मात्र १ लाख २२ हजार ८ सय २९ जना देखिन्छ । यो संख्या कुल कामदारको ३१.२४ प्रतिशत हो ।
यूएईमा साउनमा १७ हजार ५ सय ४१, भदौ १८ हजार ६ सय ५, असोज १७ हजार ७ सय २४, कात्तिक २३ हजार ६९, मंसिर २४ हजार ७ सय ६९ र पुसमा २१ हजार २ सय ११ जना गएका छन् ।
पुससम्म वैदेशिक रोजगार विभागमा कुल ९ सय ५४ उजुरी परेका थिए । तीमध्ये ६४ वटा उद्धार गरिएको र ४ सय १९ मा क्षतिपूर्ति तिराइएको विभागको तथ्यांक छ ।
यस अवधिमा आपसी सहमति भने एक जनाको पनि हुन सकेन । मुद्दातर्फ भने ६ महिनामा २ हजार १६ दर्ता भएको र २ सय ९७ मुद्दामा मिलापत्र भएको देखिएको छ ।
९८ मुद्दा भने अदालतमा दायर भएका छन् । प्रहरी शाखामा २ हजार १ सय ४६ उजुरी दर्ता भएको र १२ मिलापत्र भएको विभागले जनाएको छ ।