७ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका नकारात्मक असरका परिणाम स्वरूप ऊर्जा सुरक्षा र उर्जा दक्षता कायम राख्न ठूलो चुनौती सामना गर्नुपरिरहेको बताएका छन् ।

भारत जयपुरमा ५ कात्तिकदेखि सुरु ‘साउथ एसियन क्लिन इनर्जी फोरम २०२४’ को दोस्रो फोरम बैठकमा ऊर्जा सचिव आचार्यले एक महिनाअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा भएको क्षतिको शोधभर्ना गर्दै त्यस्ता आयोजना पुनर्संञ्चालन गर्न र भविष्यमा यस्ता क्षतिबाट जोगिन प्रयास भइरहेको बताए ।

प्राकृतिक विपद‌बाट जोगिन दक्षिण एसियाली राष्ट्रहरूको साझा समझदारी र प्रयास अनिवार्य हुनुपर्नेमा जोड दिँदै आचार्यले स्वच्छ एवं हरित ऊर्जालाई प्राथमिकता साथ अगाडि बढाउने नेपाल सरकारको प्रयास‌लाई सहभागी सबै राष्ट्रले समर्थन गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी नेपालले ५३ मेगावाटको दुहवी मल्टिफ्युल थर्मल प्लान्ट र हेटौंडा डिजेल थर्मल प्लान्टको उत्पादन बन्द गरी त्यसको परिपूर्ति जलविद्युत् र ऊर्जा (पूर्ण स्वच्छ एवं हरित ऊर्जा) बाट गरिरहेको सचिव आचार्यले उदाहरण दिए ।

नेपालले सन् २०३५ सम्म कार्यान्वयन प्रस्ताव गरेको विद्युत् उत्पादन मार्गचित्र र कार्ययोजना चाँडै मन्त्रिपरिषद्‌बाट स्वीकृत गराई कूल २८ हजार ५ सय मेगावाट क्षमताको पूर्ण स्वच्छ एवं हरित ऊर्जा उत्पादन गर्ने, आन्तरिक खपत बढाउने, ऊर्जा खपत बढाउने उ‌द्योग स्थापना गर्ने, ई–मोबिलिटी प्रोत्साहन गर्न सम्भाव्य स्थानमा चार्जिङ स्टेसन थप गर्ने र बाँकी हुने पूर्ण स्वच्छ एवं हरित ऊर्जा भारत, बंगलादेश र अन्य आकांक्षी देश निर्यात गर्ने योजना रहेको सचिव आचार्यले जानकारी दिए ।

एक महिनाअघि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम भारतबीच भएको त्रिपक्षीय विद्युत् व्यापार सम्झौताले नेपालको स्वच्छ एवं हरित ऊर्जा व्यापार अभिवृद्धि गर्न मार्गप्रशस्त गरेको भन्दै सचिव आचार्यले भारत सरकारको सह्राना गरे । त्यस्तै आचार्यले भारत सरकारसँग आफ्‌नो भूमि र विद्युत व्यापारमा सहजीकरण गरिदिन अनुरोध समेत गरे ।

उक्त फोरम उद्घाटन राजस्थान प्रदेशका ऊर्जामन्त्री हिरालाल नागरले गरेका थिए । यूएसएड भारतको आयोजनामा भएको फोरममा भुटान, श्रीलंका, नेपाल, मालदिभ्स र भारत‌का ऊर्जा सचिवहरू सहभागी छन् ।

९ कात्तिकसम्म सञ्चालन हुने फोरममा नेपालबाट नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, लगानी बोर्ड, बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लगायत सहभागी छन् ।

त्यस्तै दक्षिण एसियाका जलविद्युत् उत्पादक, लगानीकर्ता, वित्तीय संस्था, विद्युतीय उपकरण उत्पादक संस्था गरी झन्डै २ सय ६० प्रतिनिधि पनि सहभागी छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0