१३ कात्तिक, काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए ।

‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’ उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ ।

सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।

यो वर्षा वर्षायाममा जस्तो लगातार पर्ने झरी जस्तो हुने छैन । त्यसैले यात्रामा प्रभाव नपर्ने पूर्वानुमान मौसमविदको छ ।

सोमबारपछि भने मौसम सफा हुने छ । वर्षाले प्रदूषण केही घटाउने र जाडो बढाउने सम्भावना छ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण गरेको छ ।

यस वर्ष मनसुन बाहिरिएपछि पनि ठाउँ–ठाउँमा वर्षा भइरहेको छ । यस वर्ष जुन १० अर्थात् जेठ २८ गते नेपाल भित्रिएको मनसुन १२५ औं दिनमा असोज २६ गते देशभरबाट बाहिरिएको थियो ।

मनसुन बाहिरिएपछिको अवधि अर्थात् पोष्ट मनसुनमा सामान्यतया कम पानी पर्छ । यो अवधिमा सरदर ७५ मिलिमिटरसम्म वर्षा हुने गरेको छ । तर यस वर्ष मनसुन बाहिरिसकेपछि पनि ठाउँ–ठाउँमा तरकारी र अन्नबालीमा क्षति पुग्ने गरी वर्षा भएको छ ।

यही कात्तिक ५ गते पर्वत र स्याङ्जाका केही भागमा असिना पानीले क्षति पुर्याएको थियो । कात्तिक ४ गतेदेखि यता औसत ४३ स्थानमा वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0