चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओत्सेतुङको जन्मदिनका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्मरण गरेका छन् । बिहीबार एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै दाहालले माओको जन्मदिनका अवसरमा संसारभरका श्रमजीवीलाई शुभकामना दिएका हुन् ।

‘आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता एवं विचारक कमरेड माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ,’ दाहालद्वारा जारी वक्तव्यमा भनिएको छ,‘उहाँको जन्म दिनलाई उत्सवका रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’

माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा सन् १८९३ डिसेम्बर २६ मा भएको थियो । दाहालले आफ्नो वक्तव्यमा माओ ‘संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजयस्रोत’ रहेको उल्लेख गरेका छन् ।

यस्तै माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाएको दाहालले भनेका छन् । ‘कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रूपमा रहँदै आएको छ’, दाहालको वक्तव्यमा भनिएको छ ।

यति बेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूत रूपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न आफूहरू सङ्घर्षरत रहेको पनि दाहालले दाबी गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्य नैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ ।’

यस्तै दाहालले माओको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्ति एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्न अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0