२६ कात्तिक, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले करिब १५ करोड मूल्यको एमआरआई मेसिन किन्न अगाडि बढाएको प्रक्रियामा मिलेमतो नभएको दाबी गरेको छ ।
एमआरआई मेसिन खरिदमा साढे ५ करोड रुपैयाँ भन्दा बढी मूल्य तिरेर राज्यलाई नोक्सान पार्ने र आफूहरुले लाभ लिन खोजेको आरोप लागेको भन्दै अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक खरिद ऐनको अधिनमा रहेर पारदर्शी ढंगले खरिद प्रक्रिया अघि बढाएको जिकिर गरेको छ ।
निजी स्वास्थ्य संस्थामा १६/१७ हजार रुपैयाँ शुल्क तिरेर एमआरआई सेवा लिनुपर्ने बाध्यात्मक अवस्था अन्य गरी आधा सस्तो मूल्यमै सेवा लिन पाउने वातावरण निर्माण गर्ने उद्देश्य रहेको अस्पतालका प्रमुख डा. इन्द्र ढकालले बताए ।
३ वर्षअघि सेती प्रादेशिक अस्पतालले १.५ टेस्ला खरिद गर्दाको लागतलाई आधार मानेर अहिले एमआरआई मेसिनको लागत अनुमान गरिएको उनको भनाइ छ ।
‘हाम्रो योजना सफल भएको खण्डमा अस्पतालमा उपचार गराउन आउने लक्षित समूह, विपन्न तथा गरिव परिवारका विरामीले निःशुल्क तथा सहुलियत दरमा एमआरआई सेवा प्राप्त गर्ने छन्, अन्य सर्वसाधारणले समेत निजी स्वास्थ्य संस्थाको भन्दा आधा मुल्यमा एमआरआई सेवा प्राप्त गर्न पाउने छन्’, डा. ढकालले भने, ‘तर यसले आफ्नो निजी क्षेत्रबाट चलेका एमआरआई व्यवसायमा असर गर्ने भएकाले नागरिकले आधा सस्तोमा पाउने सेवा रोक्ने प्रपञ्च अनुसार निराधार हल्ला चलाएर खरिद प्रक्रिया प्रभावित गर्न खोजिएको छ ।’
प्रदेश सरकारले ४ वर्षअघि प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रले मेसिन खरिद गर्न नसकेपछि तत्कालिन स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव समक्ष एमआरआई मेसिशन खरिदको प्रस्ताव लगेको डा. ढकालले बताए ।
हरेक वर्ष बजेट विनियोजन भएपनि विभिन्न बहानामा खरिद प्रक्रिया रोकिंदै आएको र दुई पटकसम्म एमआरआई खरिद प्रक्रियामा मुद्दा परेर रोकिएकोमा हाल मुद्दाबाट सफल अवतरण भई नयाँ खरिद प्रकिया सुरु गरिएको ढकालले बताए ।
नयाँ प्रक्रिया अनुसार यही कार्तिक १ गते बोलपत्र आव्हान गरी एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढेको थियो ।
नेशनल कम्पिटेटिभ बिडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मूल्य १५ करोड राखिएको र त्यसमा सबैभन्दा कम कबोल गर्नेले मेसिन खरिद गर्ने बताए ।
‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो, सामान्यतया कम्पनीहरुले २०/२५ प्रतिशतसम्म कम मूल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा मेशिनको मूल्य पनि कम हुने अनुमान गरेका छौं’, उनले भने ।
खरिद प्रक्रियामा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने मान्यता अनुसार स्पेसिफिकेसन समिति निर्माण गरेको र त्यसमा ३ जना विशेषज्ञ चिकित्सक, २ जना वायोमेडिकल इन्जिनियर सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको छ ।
सो समितिले तयार पारेको स्पेसिफिकेसन स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाका मेडिकल इन्जिनियरसहितको सहयोगमा अध्ययन गरी परिमार्जन गरेपछि अन्तिम स्पेसिफिकेसन र लागत अनुमान तयार गरिएको डा. ढकालको भनाइ छ ।
सामान आपूर्ति गर्न सक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै अन्तर्राष्ट्रिय बोलपत्रमा नगएको उनको भनाइ छ ।
प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएका कारण पुरानो प्रविधिको मेशिन खरिद गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
‘हामीले खरिद गर्ने भनेको पुरानो मेसिन नभई केही पुरानो प्रविधिको हो, जुन टेस्ला १.५ प्रविधि हो, यसलाई २ टेस्लामा अपग्रेड गर्न सकिन्छ’, प्रमुख ढकालले भने, ‘जबकी विश्व बजारमा ३ टेस्ला पनि आएको छ, यसको मूल्य २५ देखि ३० करोड रुपैयाँ पर्छ ।’
लुम्बिनी प्रदेश सरकारले प्रदेश अस्पताललाई १२ सय शय्यामा स्तरवृद्धिका लागि अत्याधुनिक भवन निर्माण गरिरहेकाले एमआरआई मेसिन अपरिहार्य रहेको उनले बताए ।