१६ मंसिर, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्ष पदको मतगणना आइतबार राति ८ बजेबाट सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीले मतगणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणनास्थलको व्यवस्था मिलाइएको छ । जहाँ तारजाली र ५ वटा सिसीटिभी क्यामेरा पनि राखिएको छ ।
मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिहरूलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ । राति १२ देखि १ बजेसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
आइतबार साँझ ५ बजेसम्म ३ मतदान केन्द्रका ६ वटा मत पेटिका मतगणना स्थलमा जम्मा हुने छन् र उम्मेदवारहरूसँग छलफलपछि मतगणना सुरु गरिने छ । शुद्धोधन गाउँपालिका १ मा दुई हजार ११२ महिला र दुई हजार सात सय ५६ पुरुष गरी चार हजार आठ सय ६८ मतदाता छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन भएको हो । उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा छन् ।