१७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ ।

यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ । साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ ।

फूलबारी लिलामा राम, लक्ष्मण र जानकीको स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

किंवदन्ती अनुसार, त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा भाग लिन अयोध्याबाट आएका राम र लक्ष्मण पुष्पबाटिकामा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामा परेको थियो। त्यही बेला जानकीले रामलाई जीवनसाथीका रूपमा पाउन मनोकामना गरेको जनविश्वास रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले बताए ।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर १६ गतेबाट सुरु भएको विवाहपञ्चमी २२ गतेसम्म चल्ने छ ।

हिजो पहिलो दिन जानकी मन्दिरमा नगरदर्शन लिला सम्पन्न भएको थियो । भोलि मंसिर १८ गते धनुष यज्ञ, मंसिर १९ गते तिल्कोत्सव, मंसिर २० गते राम र जानकीको मटकोर र मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । मंसिर २२ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0