२५ मंसिर, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सामुदायिक विद्यालयलाई सुधार नगरी निजी विद्यालय बन्द गर्ने स्थिति नरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको विद्यालय शिक्षा विधेयक सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सभापति थापाले अहिलेको अवस्थामा निजी विद्यालय बन्द गर्न नहुने बताए ।
‘निजी हटाउनु पर्छ, फाल्नुपर्छ होइन । अहिले निजी विद्यालयले देशको इज्जत धानेका छन् । सामुदायिक विद्यालयलाई दक्ष बनायौं भने निजीमा कोही पनि पढ्दैनन्,’ उनले भने ।
सामुदायिकलाई सुधार गरेर मात्र निजीलाई विस्थापित गर्न सकिने तर्क उनको छ । संविधानका कारण शिक्षामा अफ्ठ्यारो परेमा संशोधन पनि गर्न तयार हुनुपर्ने उनले बताए ।
संविधान संशोधन नगरी शिक्षा ऐनलाई सुधार गरेर पनि जान सकिने उनको भनाइ छ ।
‘विधेयकलाई सुधार गर्ने अवसर छ । सिपमूलक शिक्षा आजको आवश्यकता हो । त्यसैअनुसार ऐन बनाउनुपर्छ,’ उनले भने ।
शिक्षा विधेयक फिर्ता नगरी यसैलाई थप सुधार गरेर संसदको आगामी अधिवेशनबाट टुंगो लगाउनुपर्नेमा उनको जोड छ ।
‘फिर्ता गर्ने अर्को मस्यौदा बनाउने होइन । यसैबाट अगाडि जाने हो । यसमा थप के गर्न सकिन्छ ? सरकार, दल, विज्ञ र सरोकारवालाको सुझाव आवश्यक छ,’ उनले भने ।