वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को एउटा यान सूर्यलाई अहिलेसम्मकै निकटबाट नियाल्ने कोसिसमा छ । पार्कर सोलार प्रोब सूर्यको बाहिरी वातावरणमा पुग्ने कोसिसमा रहेको समाचारमा उल्लेख छ ।

सूर्यको निकटमा तापक्रम र रेडिएसन उच्च हुने भएकोले कयौँ दिनसम्म यान सम्पर्कविहीन रहनेछ । यान सूर्यको निकटमा पुगेर जोगियो कि जोगिएन भन्ने सङ्केतका लागि वैज्ञानिकहरूले डिसेम्बर २७ सम्म कुरिरहेका छन् । सूर्यले कसरी काम गर्छ भन्ने कुरा प्रोबले अझ राम्ररी बुझाउने आशा गरिएको छ ।

हालसम्म मानिसहरूले सूर्यको अध्ययन टाढैबाट यसलाई हेरेर गरेका थिए । तर कुनै पनि ठाउँमा नगईकन त्यहाँको वातावरण थाहा नहुने भएकोले सूर्यको निकट पुग्ने प्रयास गरिएको नासाका एक वैज्ञानिक डा. निकोला फक्सले बीबीसी न्यूजलाई बताएका छन् । पार्कर सोलार प्रोब सन् २०१८ मा लञ्च भएको थियो । यो हाम्रो सौर्य प्रणालीको केन्द्रतिर गइरहेको छ । यसले २१ पटक सूर्यको परिक्रमा गरिसकेको छ ।

तर क्रिसमसको पूर्व सन्ध्यामा यो सूर्यको अहिलेसम्मकै निकटमा पुग्ने बताइएको छ । यति बेला प्रोब सूर्यको सतहबाट ३८ लाख माइल पर हुनेछ । यति लामो दूरीलाई पनि निकट भन्नु र ? भन्ने प्रश्न तपाईंको मनमा आएको हुन सक्छ । तर सूर्य हामीबाट ९ करोड ३० लाख माइल पर रहेको अनि सूर्य र पृथ्वीको दूरीलाई एक मिटर पर मान्दा पार्कर सोला प्रोब सूर्यबाट चार सेमी पर हुने भन्दै फक्सले स्थितिलाई बुझाउने खोजेका छन् ।

सूर्यको निकटमा पुग्दा प्रोबले १ हजार ४०० डिग्री सेल्सियसको तापमान सहनु पर्नेछ । यसले यानभित्रको इलेकट्रोनिक्सलाई पगाल्न पनि सक्छ । तातोबाट बचाउन यसलाई ११ दशमलव ५ सेमी बाक्लो कार्बन कम्पोजिटले बेरिएको छ । यो प्रतिघण्टा ४ लाख ३० हजार माइलका दरले कुदिरहेको छ । यो भनेको हवाई जहाजमा ३० सेकेन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगेजत्तिको हो ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0