२५ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ ।

बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।

यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी छन् । प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

‘आफूले आत्महत्या गर्छु भनेर प्रयास गरेको र तर नसकेको भनेकी छन्,’ सल्यान प्रहरी स्रोतले भन्यो, ‘पछि छोरीहरुको हत्या गरिछन् ।’

सानै उमेरमा भएको थियो बिहे

पूर्णिमाको बिहै सानै उमेरमा भएको थियो । प्रहरीका अनुसार उनको बिहे हुँदा १४ वर्षकी थिइन् । अहिले उनी १७ वर्ष पुगिन् । उनका श्रीमान् टेकमान राना २५/२६ वर्षका छन् ।

सानै उमेरमा दुई छोरीको जन्म भएपछि पूर्णिमामा आइपरेको जिम्मेवारीले गर्दा पनि तनाव बढाएको हुनसक्ने अनुमान प्रहरीको छ ।

घर खर्च चलाउन उनका श्रीमान टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए । ‘श्रीमान जेठाजु, सासू, ससुरा सबै कामको सिलसिलामा नुवाकोटमा रहेछन्,’ सल्यान प्रहरी स्रोतले भन्यो, ‘घटनापछि उहाँहरु सल्यान फर्किंदै हुनुहुन्छ । त्यसपछि घटनाबारे थप कुराहरु खुल्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0