पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन्। बिहीबार साँझ जारी १२ मिनेट लामो भिडियोमार्फत उनले शुभकामना सन्देश दिएका हुन्।

उनले नेपाल कसैको रणमैदान नभइ सबै नेपालीको साँझा थलो भएको बताएका छन्। उनले सबै नेपालीको घर नेपाल र जात नेपाली हो भन्दै नेपाललाई शान्ति थलो बनाउन आग्रह गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऔँ। साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो।’

भिडियो सन्देशमा पूर्वराजा शाहले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन्।

पूर्वराजा शाहले नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा उनले थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौतीको समय भएको भन्दै उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो। संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए। थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन।’

उनले पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स-सानो भूखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको जिकिर समेत गरेका छन्।

सो क्रममा शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि सन्देशमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0