२६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको भेट भएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन पुगेका हुन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।

‘हामी निम्तो दिने कार्यक्रममै व्यस्त छौं,’ श्रेष्ठले भने, ‘स्वभाविक रुपमा तीन नेताबीच भेट भएपछि केही कुराकानी त हुने नै भयो ।’

यद्यपि उनले भेटवार्ताको विषय भने खुलाएनन् ।

प्रचण्ड र माधवसँगको भेट गर्न अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए ।

नेता श्रेष्ठसँगको भेटवार्तापछि लिङ्देनले प्रचण्ड र नेपाललाई भेटेका हुन् ।

प्रचण्ड–नेपालको भेटवार्तामा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भइरहेको बताइएको छ ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।

बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो ।

बैठकमा अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूलाई लिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0