स्वास्थ्यमा समस्या देखियो भने त्यस समस्याले अति दुख नदिएसम्म प्राय अस्पताल जाँदैनन् । कहिलेकाहीँ यही कारणले गर्दा अवस्था गम्भीर भइ औषधिले समेत काम नगर्ने बेला न आउला भन्न सकिन्न ।

बेला बखतमा स्वास्थ्य परीक्षण गराउने बानी बसाल्ने हो भने गम्भीर रोग पत्ता लगाउने मात्रै होइन, रोग लागि हालेमा जटिल अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ ।

त्यसैले, गम्भीर अवस्था आउन नदिन बेलाबखतमा यी पाँच परीक्षण अनिवार्य गराउनु आवश्यक छ ।

रगत परीक्षण

स्वास्थ्य अवस्थाबारे थाहा पाउने परीक्षण मध्ये एक हो, रगत परीक्षण । यसले शरीरमा भइरहेको गडबडीलाई सङ्केत गर्छ । रक्तअल्पता, मधुमेह, कोलेस्ट्रोल, थायराइडको अवस्था, कलेजो र मिर्गौलाको कार्य कस्तो भन्ने कुरा देखाउन सक्छ ।

यसले सेतो रक्त कोषिका र हेमोग्लोबिनको स्तर जाँच गर्छ । यी दुईको सन्तुलित स्तरले शरीरको प्रतिरक्षा र अक्सिजन आपूर्तिमा काम गरिरहेको हुन्छ । ३० वर्षभन्दा माथि उमेर समुहले वर्षमा कम्तीमा एक पटक रगत परीक्षण अनिवार्य गराउनु पर्छ ।

लिपिड प्रोफाइल परीक्षण

हृदयघात र अन्य मुटुसम्बन्धी रोगको बढ्दो केसलाई ध्यानमा राख्दै लिपिड प्रोफाइल परीक्षण निकै महत्वपूर्ण भएको छ । यो परीक्षणले शरीरमा भएको कोलेस्ट्रोल, एचडीएल (राम्रो कोलेस्ट्रोल), एलडीएल (खराब कोलेस्ट्रोल) र ट्राइग्लिसराइडको स्तर जाँच गर्छ ।

कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्दा हृदयाघात र मस्तिष्कघातको जोखिम कम हुन्छ । ४० वर्षको उमेर पछि प्रत्येक ६ महिनामा एक पटक लिपिड प्रोफाइल परीक्षण गर्नुपर्छ ।

यदि परिवारमा पहिला नै मुटु रोगको इतिहास छ भने चिकित्सकको सल्लाहमा ४० वर्षभन्दा अघि परीक्षण गर्नुपर्छ ।

क्यान्सर स्क्रिनिङ परीक्षण

क्यान्सरको सुरुवाती स्तरमै पहिचान भएमा निको हुने सम्भावना बढाउँछ । त्यसैले, महिलाहरूले प्याप स्मेयर परीक्षण र पाठेघरको क्यान्सर जाँच गर्नु आवश्यक हुन्छ । २१ वर्षको उमेर पछि प्रत्येक ३ वर्षमा एक पटक यो परीक्षण गर्नु उचित हुन्छ ।

स्तन परीक्षणको लागि ४० वर्षको उमेर पछि प्रत्येक २ वर्षमा एक पटक स्तन क्यान्सरको स्क्रिन गर्नुपर्छ।

त्यस्तै, पुरुषमा उमेर बढेसँगै प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ । यो जोखिमबाट बच्न ५० वर्ष पुगेपछि पिएसए परीक्षण गर्नुपर्छ । अन्य क्यान्सर परीक्षण नियमित स्वास्थ्य परीक्षणमा चिकित्सकको सल्लाह बमोजिम गर्नुपर्छ ।

मधुमेह परीक्षण

वर्तमान समयमा सबैभन्दा बढी सताउने दीर्घ रोग हो, मधुमेह । साझा रुपमा देखिने मधुमेह अनियन्त्रित भएमा मुटु रोग, मिर्गौला फेल र आँखामा समस्या लगायतको गम्भीर समस्याको जोखिम रहन्छ ।

त्यसैले, मधुमेह छ की छैन भनेर पत्ता लगाउन मधुमेह परीक्षण बेलाबखतमा गर्नुपर्छ । त्यसको लागि फास्टिङ सुगर टेस्ट खाली पेट भएको समयमा गरिन्छ । साथै, एचबिएवानसी परीक्षण पनि गर्नुपर्छ । यसले पछिल्लो ३ महिनाको औसत चिनीको स्तरको बारेमा जानकारी दिन्छ ।

समयमै मधुमेह पत्ता लगाउन सके नियन्त्रण गर्न सजिलो बनाउँछ । यदि तौल धेरै छ वा मधुमेहको पारिवारिक इतिहास छ भने प्रत्येक ६ महिनामा एक पटक मधुमेहको जाँच गर्नुपर्छ ।

ईसीजी र तनाव परीक्षण

ईसीजी (इलेक्ट्रोकार्डियोग्राम)ले हृदयघात र अन्य रोगहरूको पहिचानको लागि गरिन्छ । साथै, तनाव परीक्षणले रगत प्रवाह गर्ने हृदयको क्षमता र तनावको समयमा यसको अवस्थाको विश्लेषण गर्छ ।

यी परीक्षण वर्षमा एकपटक गरेमा मुटुमा कुनै समस्या भए पत्ता लाग्छ । बेलैमा पत्ता लागे गम्भीर अवस्थाहरूबाट बच्न सकिन्छ । ४० वर्षको उमेरपछि वर्षमा एक पटक ईसीजी र तनाव परीक्षण गर्नुपर्छ ।

यदि उच्च रक्तचाप, मोटोपना, वा अन्य जोखिम कारकहरू छन् भने, चिकित्सकको सल्लाह लिएर चाँडै स्क्रिनिङ सुरु गर्नुपर्छ ।

स्वस्थ जीवनशैली अपनाउने सल्लाह

स्वास्थ्य परीक्षण गर्नुका साथै आफ्नो जीवनशैली सुधार गर्नु पनि महत्वपूर्ण हुन्छ । फलफूल, तरकारी, व्होल ग्रेन र लीन प्रोटिन समावेश भएको स्वस्थ आहार खानुपर्छ । धेरै तारेको र मसलायुक्त खानाबाट टाढा रहनुपर्छ ।

गाँजर, पालुङ्गो, स्याउ र बदाम जस्ता भिटामिन र खनिजहरूले भरिपूर्ण खाद्य पदार्थलाई आफ्नो दैनिक आहारमा समावेश गर्नुपर्छ । साथै, शरीरलाई हाइड्रेटेड राख्नका लागि दिनभरि पर्याप्त पानी पिउनुपर्छ । स्वस्थ आहार शारीरिक स्वास्थ्यको लागि मात्र नभई मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ ।

व्यायाम

दैनिक कम्तीमा ३० मिनेटको लागि व्यायाम गर्नुपर्छ । यसले मांसपेशीलाई बलियो बनाउँछ र शरीरमा रक्तसञ्चार सुधार गर्छ । व्यायामको लाग योग गर्ने, हिँड्ने, साइकल चलाउने वा जिम जाने गर्न सकिन्छ ।

नियमित व्यायामले तनाव कम गर्छ । मुटु स्वस्थ राख्छ । तौल नियन्त्रणमा राख्छ । यदि समय कम छ भने, दिनभरमा कुनै समय छोटो ब्रेक लिएर हल्का व्यायाम गर्नुपर्छ ।

तनाव व्यवस्थापन

तनाव कम गर्न योग र ध्यान गर्नुपर्छ । गहिरो सास फेर्ने प्राणायामको विधि अपनाउन सकिन्छ । जसले दिमागलाई आराम दिन्छ ।

पर्याप्त निद्रा

पर्याप्त निद्रा लिनुपर्छ । किनकि निद्राको कमीले मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर गर्छ । परिवार र साथीहरूसँग समय बिताउने, किताबहरू पढ्ने वा आफूलाई मन पर्ने अन्य काममा रमाउनु पर्छ ।

धूम्रपान र रक्सीबाट बच्ने

स्वस्थ रहन धूम्रपान र मदिरा सेवनबाट टाढा रहनुपर्छ ।किनकि यी बानीले क्यान्सर, कलेजोको समस्या र मुटुसम्बन्धी रोगजस्ता गम्भीर रोग निम्त्याउँछ । यदि पहिले नै यी उपभोग गर्नुहुन्छ भने, बिस्तारै छोड्ने प्रयास गर्नुपर्छ ।

यसका लागि चिकित्सक वा मनोपरामर्शसँग सहयोग लिन सकिन्छ । स्वस्थ जीवनशैली अपनाउनाले शरीरलाई स्वस्थ राख्नुको साथै आत्मविश्वास पनि बढाउँछ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0